PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एयरबस खरिदका लागि वायु सेवा निगमद्वारा सरकारसँग २० अर्ब माग



रासस

एयरबस खरिदका लागि वायु सेवा निगमद्वारा सरकारसँग २० अर्ब माग

काठमाडौँ : मुलुकको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करिब छ दशक लामो यात्रामा विभिन्न आरोह अवरोहलाई चिर्दै सफलतातिर लम्किरहेको छ। 

स्थापनाको ५९ औँ वर्ष पूरा गरी हीरक जयन्ती मनाउने तयारीमा रहेको निमगले देशको राजनीतिक परिस्थिति र आर्थिक समाजिक अवस्थाका बाबजुत पनि आफ्नो व्यावसायिक क्षमतालाई दर्शाउने मार्गचित्र प्रस्तुत गरेको छ। विगत पाँच वर्षको तुलनामा निगमले गरेको प्रगति र व्यावसायिक प्रयासले निगमको आगामी सफलताको मार्ग दर्शाउँछ । 

गत पाँच वर्षमा अन्तर्राष्ट्रिय उडानतर्फ निगमले बोकेको यात्रु सङ्ख्या वार्षिक १७ दशमलव ६ प्रतिशतले बढेको छ। सन् २०१२ मा दुई लाख ९७६ यात्रु बोको निगमले सन् २०१६ मा यसमा बृद्धि भई तीन लाख ८४ हजार ३२७ पुगेको छ। सो अवधिमा सम्पूर्ण एयरलाइन्सबाट बोकेको यात्रु सङ्ख्या ४ दशमलव ७ प्रतिशतले मात्र बढेको छ। यही पाँच वर्षको अवधिमा बजार भाग (मार्केट सेयर) पाँच प्रतिशतबाट बढेर करिब १२ प्रतिशत पुगेको निगमले जनाएको छ। 

नेपालमा अहिले २६ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। त्यसैगरी गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अनुमानित यात्रु सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको छ। 

देशको राजनीतिक परिस्थिति र सीमित स्रोत साधनका बाबजुत पनि निगम पछिल्लो समयमा सफलतातर्फ अघि बढेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

उनले भने,‘सरकारी स्वामित्वका ४२ संस्थामध्ये निगम पनि एक हो। खर्बौ डलर हैसियतका २६ वटा विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्ने निगम मात्रै हो, हामी सफलताको शिखर चढ्दैछौँ, त्यसैले अन्य विकसित मुलुकका एयरलाइन्ससँग तुलना गर्न मिल्दैन।’ 

निगमको पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा पहिलो आठ वर्षमा यात्रु सङ्ख्या निरन्तर रुपमा दुई लाखको हाराहारीमा थियो। ए ३२० दुईवटा नयाँ विमान थप भएपछि बढेर तीन लाख ८४ हजार तीन सय २७ पुगेको हो।

नयाँ आएको ए ३२० अहिले दिनको सालाखाला १० दशमलव ६ घण्टा उडान भरिरहेको छ, जसलाई विश्वमा ‘लिगेसी करियर’ को हकमा सन्तोषजनक मानिन्छ। 

यो तथ्याङ्कले निगमको अवस्था सुध्रिएको भएपनि यसलाई अझै सुधार्नुपर्ने महाप्रबन्धक कंसाकार बताउँछन्। उनका अनुसार त्रिभुवन विमानस्थलबाट उद्गम भएको कूल अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारको करिब ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको हातमा भएपनि काठमाडौँ एसियाकै सबैभन्दा महँगो हवाई गन्तव्य भइरहेको वर्तमान परिस्थितिमा सुधार ल्याउन निगमले विमान थप्दै जाने रणनीति बनाउनैपर्छ। 

निगमले उत्पादन क्षमता वृद्धि र व्यवस्थापन सुधार गरी प्रतिस्पर्धी बजारमा आफूलाई खरो उतार्नुपर्ने निगमकै अधिकारी औँल्याउछन् । 

सरकारसँग २० अर्ब माग 
अहिले चलिरहेका दुईवटा एयरबस ए ३२० र अब आउने दुई वटा वाइडबढी ए ३३० खरिद गरी निगमको उत्पादन क्षमता वृद्धि गर्ने योजना छ, तर अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारमा प्रतिस्पर्धा गर्ने निगमलाई आर्थिक रुपमा सक्षम बनाउन जरुरी छ। त्यसका लागि निगम सञ्चालक समितिले निर्णय गरी २० अर्बको पूँजी सञ्चित गर्न सरकारलाई पत्राचार गरेको जनाएको छ। 

महाप्रबन्धक कंसाकारले भने,‘दुई वटा वाइडबढी खरिदका लागि पहिलो किस्ता आठ अर्ब विमान खरिद गर्ने कम्पनीलाई पठाइसकेका छौँ, अब चाँडै विमान आइसकेपछि उत्पादन क्षमता वृद्धि गर्नुपर्छ, यसमा सरकारले २० अर्ब पूँजी लगानी गर्नुपर्छ भनेर अनुरोध गरेका छौँ, यसमा सरकारबाट सकारात्मक जवाफ आएको छ।’ 

विमान खरिदसँगै निगमले आन्तरिक व्यवस्थापन सुधार र प्राविधिक तथा जनशक्ति सुधारका काम अघि बढाएको छ। 

निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले निगमको मागअनुसार २० अर्ब पूँजी लगानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए। 

निगमको ५९ औँ वार्षिकोत्सवलाई शनिबार सम्बोधनका क्रममा सचिव अधिकारीले मुलुकको समग्र आर्थिक सामाजिक परिवेशसँग निगमको नियति जोडिएको टिप्पणी गर्दै सरकारी नीति र व्यवस्थापन सुधार गर्नसके निगमलाई उकास्न सकिने बताए। 

उनले भने, ‘नौ प्रतिशत ब्याजमा २४ अर्ब खर्चेर विमान किन्दैछौं व्यवस्थापन सुधार चूनौतिपूर्ण छ, यसमा सरकारले लगानी अभिवृद्धि गर्छ, निगमको दिगो व्यवस्थापनका लागि रणनीतिक साझेदार भित्र्याउन मन्त्रालयले गृहकार्य अघि बढाएको छ।’ 

निगमकै नायब महाप्रबन्धक गणेशबहादुर चन्दले दुई वटा वाइडबढी खरिदका लागि पहिलो चरणको किस्ता रकम पठाइएकाले चाँडै विमान आउने भन्दै भन्सार छुटको व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरे। 

निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell