PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नदी फोहर गर्ने ३८१ को सूचीमा सांसद पनि, २९ लाख जरिवाना असुल



रासस

नदी फोहर गर्ने ३८१ को सूचीमा सांसद पनि, २९ लाख जरिवाना असुल

  • पूर्णप्रसाद मिश्र 
काठमाडौँ : काठमाडौँ उपत्यकाका नदीमा फोहर फाल्नेविरुद्ध कडा कारबाही थालिएको छ। यसक्रममा अस्पतालदेखि सांसदसमेत कारबाहीमा परेका छन्। 

प्रदूषणमुक्त राजधानी निर्माणको अभियान जारी रहेका बेला नदी किनारमा फोहर फाल्नेहरुलाई तह लगाउन काठमाडौँ र ललितपुर महानगरपालिकाले कारबाही अभियान पनि साथै सञ्चालन गरेका छन्। 

अभियानअन्तर्गत बितेका चार वर्षमा एक हजार ३८१ जनालाई कारबाही गरिएको वागमती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए। उनले भने,‘मीनभवनमा भिएस निकेतन कलेजको भवन नदी किनारसम्म बनाउने सांसद बाबुराम पोखरेल र तिलगङ्गा आँखा अस्पताललाई पनि कारबाही गरिएको छ।’ 

उपत्यकाका नदीमा फोहर फाल्ने व्यक्ति र संस्थाबाट कारबाहीस्वरुप साढे २९ लाख जरिवाना गरिएको छ। कारबाहीबाट हालसम्म काठमाडौँ र ललितपुर महानगरपालिकाले २९ लाख ४९ हजार ९०० राजस्व सङ्कलन गरेका छन्। 

उपत्यकाका नदी र चक्रपथलगायत स्थान सफाइ गरी हालसम्म १० हजार ८४५ मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानले १५० हप्तासम्म नदीमा फोहर फाल्ने व्यक्तिलाई कारबाही गरेन। 

सफाइ महाअभियानको १५० हप्ताका बीच महानगरपालिकाले सङ्कलन गरिएको फोहर नउठाएपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले फोहर फाल्ने जिम्मा लिएका अधिकारीलाई पनि कारबाही गरेका अभियन्ता बोहराले बताए। शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। 

वाग्मती सफाइ महाअभियानको २१६ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुल गुसिन्गाल क्षेत्रमा सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बोहराले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell