PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

आठ खेलाडीलाई दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार



पहिलोपोस्ट

आठ खेलाडीलाई दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार

काठमाडौं : शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ।

शहिद दशरथ चन्दको ११५औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको शहिद चन्दको पूर्ण कद्को सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा क्षेत्रगत रुपमा ५ र पाराबाट २ खेलाडी नगदसहित सम्मानित भए। २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको हो।

जसअन्तर्गत पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए।

पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथ्लेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए। ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएकोमा पहिलोपटक पारा विधामा खेलाडीलाई सम्मान गरेको हो।

त्यस्तै मरणोपरान्त अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितलाई पनि सोही अवसरमा सम्मान गरियो। सञ्जयको असार ३ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण क्रममा ‘हाइ अल्टिच्युट’ का कारण निधन भएको थियो।

सम्मानित सबैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरियो। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), राखेपका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलाडीलाई सम्मान गरे।

कार्यक्रममा प्रतिभा, सीता र विक्रम उपस्थित थिए। बाँकीको पुरस्कार आफन्त, प्रतिनिधि र नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीले बुझे।

पुरस्कार वितरणअघि शहिद चन्दको सालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण गरिएको थियो। ज्ञात–अज्ञात शहिदको सम्झनामा १ मिनेट मौन धारण पनि गरिएको थियो।

कार्यक्रममा सदस्य–सचिव विष्टले दशरथ चन्द जस्तो महान शहिदको नामबाट स्थापित पुरस्कारबाट खेलाडी पुरस्कृत हुनु गर्वको विषय भएको बताउदै निजी क्षेत्रबाट खेलाडीलाई प्रोत्साहन गरेकोमा ट्रष्टको प्रशंसा गरे। उनले दशरथ चन्दलगायत अन्य शहिदका कारण आज आम नेपाली स्वतन्त्र भएको धारणा व्यक्त गर्दै शहिदको योगदानलाई कसैले बिर्सन नहुने बताए। उनले ट्रष्टलाई आगामी आर्थिक वर्षको बजेटमा १ लाख रुपैयाँको व्यवस्था गरिएको अवगत गराउदै आउदा दिनमा ट्रष्टले दिने पुरस्कार राशीमा समेत परिषद्को तर्फबाट रकम थप गरिदिने प्रतिबद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell