PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपालगञ्ज उपमहानगर :  एमाले छोडेर राप्रपाबाट भिडेका धवल किन अगाडि? 



आकाश क्षेत्री

नेपालगञ्ज उपमहानगर :  एमाले छोडेर राप्रपाबाट भिडेका धवल किन अगाडि? 

नेपालगञ्ज : रानी तलाउ, महेन्द्र पार्क र वाटर पार्क – नेपालगञ्जलाई चिनाउने यी तीन ‘आइकन’ सँगै जोडिएर कसैको नाम आउँछ भने त्यो हो धवलशमशेर राणाको।

यसअघिको स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेका राणाले बनाएका ती प्रसिद्ध ठाउँहरु अहिले बेवारिसे छन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा अर्को इनिङ्ग्स सुरु गर्न मैदानमा उत्रिएका उनको मुख्य अजेन्डा आफूले बनाएका स्थलहरुको पुननिर्माण गर्नु पनि हो। 

यहाँका स्थानीय जेष्ठ नागरिकसँगको कुराकानी गर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ  अहिले भइरहेको मतगणनामा उनले यति धेरै मत पाउनुको कारण। उनीहरु सुनाउँछन् राणाको पहलमा सडकदेखि स्थानीय विकासका लागि विभिन्न योजना। 

राप्रपाबाट उम्मेदवार भएका कारण उनले ल्याउने मतमा पर्न सक्ने असरबारेका अनुमान त्यतिबेला गलत ठहरियो जब मतगणना सुरु भयो। राणा लगभग दोब्बर अन्तरले प्रतिस्पर्धी उम्मेदवारहरुभन्दा अगाडि देखिए।

प्रदेश नम्बर ५ को ठूलो र ऐतिहासिक शहर मानिने नेपालगन्ज बजारलार्इ एउटा छुट्टै दिशा दिने विकासका  एजेन्डा छन् उनीसँग। 

नेपालगञ्जमा २०४६ को जनआन्दोलनपछि भएका दुई स्थानीय निर्वाचनमा एक पटक नेपाली कांग्रेस र एक पटक नेकपा एमालेले विजय हात पारेको थियो। 

२०४९ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका विजय गुप्ता मेयर भएका थिए भने २०५४ सालमा भएको निर्वाचनबाट एमालेका धवलशमशेर राणा विजयी भएका थिए। 

अहिले उनै राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री हुँदै नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको दावेदार भएका हुन्।  २०७० सालमा संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका राणा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग झिनो अन्तरले हारेका थिए। 

पहिलो चरणमा धादिङको एउटा गाउँपालिकामात्रै जितेको राप्रपाको शाख दोस्रो चरणमा नेपालगञ्ज उपमहानगरपालिकाले राख्ने संकेत प्रारम्भिक मतगणनाको परिणामले देखाइसकेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell