PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विजय जुलुसमा सम्बोधन गर्न ओली हेलिकप्टरबाट पुगे तम्घास, भने- कांग्रेस कुर्सीको लोभी



चन्द्रकान्त खनाल

विजय जुलुसमा सम्बोधन गर्न ओली हेलिकप्टरबाट पुगे तम्घास, भने- कांग्रेस कुर्सीको लोभी

रुपन्देही :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा कांग्रेसको नेतृत्व ठीक नभएको भन्दै कुर्सीको लोभमा सरकारले संविधान र कानुन विपरीत काम गर्न थालेको आरोप लगाएका छन्। जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको भन्दै नेता ओलीले विकासका र परिवर्तनका लागि नेपाली कांग्रेस बाधक बनेको बताए।
 
स्थानीय तहको चुनावमा गुल्मीको रेसुङ्गा नगरपालिकामा नेकपा एमालेले मेयरमा डिल्लीराज भुसाल र उपमेयरमा सीता भण्डारीसहितको टोलीले विजय हासिल गरेपछि पार्टीले शनिबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्न ओली हेलिकप्टरमार्फत सदरमुकाम तम्घास आइपुगेका थिए।

विजय सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधन गरेर मधेशीहरुलाई रिझाउनका लागि सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते सारेको भन्दै प्रदेशको मातहतमा स्थानीय तहलाई नियन्त्रण गरेर पंगु बनाउने काम गर्न लागेको आरोप समेत लगाए।

 संविधान संसोधनमार्फत् सरकारले हिन्दी भाषालाई नेपालमा नेपाली भाषासरह सरकारी कामकाजको भाषा बनाउने जस्ता कुराहरु आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै ओलीले राष्ट्रियताको पक्षमा एमाले सतिसाल जस्तै अडिग रहने बताए।
 
गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा एमालेको तर्फबाट डिल्लीराज भुसाल र उमपेयरमा सीता भण्डारी विजयी भएका हुन्।  भुसालले ६ हजार ३ सय ८१ मत पाएका थिए भने कांग्रेस उम्मेदवार भुवनप्रसाद श्रेष्ठले ६ हजार २ सय ४ मत।

त्यसैगरी उपमेयरमा भण्डारीले ६ हजार २ सय १३ मत पाइन् भने कांग्रेसकी अमृतादेवी कुँवरले ६ हजार १ सय ७९ मत। नगरपालिकाका १४ वडाहरु मध्ये ८ वटा वडामा कांग्रेस प्यानल विजयी बनेको छ भने ६ वटामा एमाले। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell