PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मतपरिणामको विषयलाई लिएर कञ्चनपुरको पुनर्वासमा तनाव, प्रहरीद्वारा हवाईफायर



रासस

मतपरिणामको विषयलाई लिएर कञ्चनपुरको पुनर्वासमा तनाव, प्रहरीद्वारा हवाईफायर


भीमदत्तनगरः  मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भएको छ। झडपमा प्रहरी र केही आन्दोलनकारी घाइते भएका छन्। 

पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि शनिबार दिउँसोपछि मतगणना स्थगित भएको छ। 

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा दिउँसोपछि नाराजुलुस गर्दै आइरहेका थिए । सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन्।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन्। 

प्रहरीले स्थिति तनावपूर्ण बनेपछि बेलुकी पाँच राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए। 

असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन्। पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell