
सप्तरी : शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जिता लगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन्।
बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन्। गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ।
अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले जानकारी दिए।
उक्त वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन्। एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए। मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ।
बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।
यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन्। गतवर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको छ । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए। उनले बाढीबाट जोगाउन ठाउँठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको जानकारी दिए।
यसैबीच, जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको शब प्रहरीले फेला पारेको छ। रासस