
खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा एमालेले पराजित गरेको छ ।
तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो।
मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडा अध्यक्षमा निर्वाचित भएका छन्।
चार दल एकातिर लाग्दा पनि सो वडामा एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको समूह विजयी भएको हो । सो वडामा कांग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्ति कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेको थियो।
माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले फरक पार्टीको चुनाव चिह्न देखाएर चुनावमा होमिएको विषयलाई चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राति सुतली बम विस्फोट गराइएको थियो।
विस्फोटमा चौहानकी बुहारी घाइते भएकी थिइन्। उम्मेदवारको घरमा बम विस्फोट भएपछि जिल्लावासीमा ध्यान झनै चिउरीडाँडामा तानिएको थियो।
केपिलासगढी गापा प्रमुख र उपप्रमुखमा एमाले विजयी
केपिलासगढी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। एमालेको तर्फबाट प्रमुखका उम्मेदवार कृष्णकुमार राईले एक हजार ८०६ र उपप्रमुख पदमा उम्मेदवार बनेकी कृष्णकुमारी वन एक हजार ७७४ मत प्राप्त गरी विजयी भएकी हुन्।
राईको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार समीर राईले एक हजार ५११ मत प्राप्त गरिन्।
सात वडा रहेको उक्त गाउँपालिकाको वडाध्यक्षमा वडा नं १ मा एमालेका वीरबहादुर तामाङ, २ मा कांग्रेसका बलिराज राई, ३ मा एमालेका खगेन्द्र गुरुङ, ४ मा कांग्रेसका गणेश अधिकारी, ५ मा एमालेका खगेन्द्र राई, ६ मा एमालेका अशोककुमार राई र ७ मा माओवादी केन्द्रका तेजकुमार राई विजयी भएका छन्। उक्त गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीले प्रतिस्पर्धा गरेको थियो। रासस