
मुगुः पाटनबाट यार्सागुम्बा टिपेर घर फर्कंदै गरेका यहाँका एक गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ।
शनिबार बेलुका ५ बजे यार्सा टिपेर घर फर्कंदै गरेका मुगमकार्मारोङ गाउँपालिका वडा नं ६ पुअ गाउँका ३४ वर्षीय तेन्जेन लामा, १४ वर्षीय उर्गिन लामा र २४ वर्षीय कुन्जाङ लामा गाउँभन्दा एक घण्टा टाढा वडा नं ५ मा रहेको सेरोगगाढ खोला तर्दै गर्दा बाढीले बगाएर बेपत्ता भएका स्थानीय पेमा तार्के लामाले जानकारी दिएका छन्। बेपत्तामध्ये तेन्जेन र उर्गिन बाबुछोरा हुन्।
जिल्ला प्रहरी कार्यालय, मुगुमा बुझ्दा सेरोगगाडमा पुअ गाउँका तीनजनालाई खोलाको बाढीले बेपत्ता पारेको जानकारी आएको तर को भन्ने नाम खुल्न नसकेकाले घटनास्थल नजिक रहेको पुलु प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिइयो।
साँझपख घटना हुँदा र एकै गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाउँदा पूरै पुअ गाउँका स्थानीय बासिन्दा शोकमग्न भएका छन् भने बेपत्ताहरु पाउने आशामा गाउँले तथा प्रहरीहरु मुगु कर्णाली नदीको छेउछाउमा खोजी गरिरहेका छन्।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पूर्व दक्षिणमा पर्छ। रासस