खोटाङ : प्रमुख तीन दलबीच तीव्र प्रतिस्पर्धा भएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हात पारेको छ। १५ वडा रहेको नगरपालिकामा खसेको १७ हजार ४४ मतमध्ये पाँच हजार ३४३ मत प्राप्त गर्दै प्रमुखमा दीपनारायण रिजाल र पाँच हजार ३६७ मत प्राप्त गर्दै उपप्रमुखमा वीणादेवी राईले जित हात पारेका हुन्।
रिजालको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजनशेर राईले चार हजार ७१८ मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र)की उम्मेदवार दुर्गाजयन्ती राईले चार हजार ४३४ मत प्राप्त गरेकोमुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए।
आचार्यका अनुसार उपप्रमुख पदका विजयी राईको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रत्याशी होमकाजी आचार्य (विनोद)ले चार हजार ६२७ मत ल्याए भने नेकाका कान्ता केसी (बस्नेत)ले चार हजार १६८ मत ल्याए।
गणनाको सुरुवातदेखि अग्रता लिएको माओवादी केन्द्र अन्तिम चरणमा १४ नं वडामा पर्ने बुइपाको मत परिणामपछि पछाडि परेको थियो। १५ वडामध्ये २ सोल्मा, ४ खाल्ले, ८ दोर्पा, ९ निर्मलीडाँडा, १४ बुइपा र १५ विजयखर्क गरी पाँचवटा वडा एमालेले जितेको छ।
यस्तै, १ दिक्तेल, ७ दोर्पा र ११ खार्मीमा नेका विजयी भएको छ। माओवादी केन्द्रले भने ६ नेर्पा, १२ जालपा र १३ नुनथलामा जित हासिल गरेको छ। १० पाथेकामा माओवादी केन्द्र र सङ्घीय समाजवादीको संयुक्त प्यानल र ५ लफ्याङमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको संयुक्त उम्मेदवारले विजय हासिल गरेको छ। राप्रपाले ३ मा पर्ने बाम्राङमा विजय प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। रासस