बाँकेः बाँकेका ८ स्थानीय तहमध्ये ३ स्थानीय तहकको नतिजा सार्वजनिक भएको छ। जसमा राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ भने बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले जितेको छ।
जसमा राप्ती सोनारीमा नेपाली कांग्रेसका उम्मेदवार लाहुराम थारु ८२३६ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तुलसीराम चौधरीले ६९२४ मत प्राप्त गरेका हुन्।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकै घनीकुमारी खत्री ८२०३ मत ल्याई विजयी भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी चमेली बागबनले ६९२४ मत प्राप्त गरिन्। राप्तीसोनारीमा वडा नंम्बर १, ३, ४, ८, ९ नेपाली कांग्रेस २ मा एमाले र ५, ६, ७ वडामा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिएका हुन्।
राप्ती सोनारीकम पूर्वसभासद समेत रहेका माओवादी केन्द्रका पट्टु थारु निक्कै पछाडि परेका छन्।
बाँकेको डुडुवा गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार नै विजयी भएका छन्। अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानु निर्वाचित भएका हुन्। चौधरीले ४६९१ मत र बानोले ४३१५ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
चौधरीका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजयकुमार यादवले ४१९२ मत प्राप्त गरेका थिए भने त्यस्तै उपाध्यक्ष बानोकी प्रतिद्वन्द्वी जबिदा खातुनले ४१३४ मत प्रप्त गरेकी थिर्इन्।
डुडुवा गाउँपालिकामा निर्वाचित भएपछि कांग्रेस समर्थकहरुले विजय जुलुस निकालेका छन् । निर्वाचित भएसँगै चौधरीले शिक्षालाई प्राथमिकता दिने र भौगोलिक विकटता रहेको डुडुवामा विकास निर्माणका कार्य अगाडि बढाउने बताए ।
त्यस्तै नरैनापुर गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरमका इश्त्यिाक अहमद साह ४०८० मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका रामचन्द्र मौर्यले ३३८८ मत ल्याएका हुन्।
त्यस्तै, उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै जयन्तीदेवी श्रीवास्तव ३०४४ मत प्राप्त गरेर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अतिकुन निशाले २५९८ मत प्राप्त गरेका हुन्।
६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा सङ्घीय समाजवादी फोरम नेपाल र वडा नम्बर ३, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् ।