
काठमाडौं : बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा शनिबार च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सागको व्यक्तिगत स्पर्धामा पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले पुरुष फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे। स्वयम्भूका रमेश भट्टचनले कास्कीका अशिम शेरचनलाई ७–३ ले हराउदै तेश्रो भए।
प्रतियोगिताको महिला फाइनलमा ज्ञानुले कास्की आर्चरी क्लबकी रश्मी दर्लामीलाई ६–२ ले हराइन्। आर्मीकी आइशा तामाङ कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले हराउँदै तेश्रो भइन्। रिकर्भको पुरुष/महिलामा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे।
पुरुष ट्रेडिसनल खुलामा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले स्वर्ण जिते। उनले फाइनलमा नेपाल छन्त्याल समाजका धनेन्द्र छन्त्यालको चुनौती ६–० ले समाप्त पारे। म्यागदी मगर समाजका जितेन्द्र रोका मगरले हिमालयन भोटे युथ क्लबका नादार भोटेलाई ६–२ ले पाखा लगाउदै तेश्रो भए। यो स्पर्धामा पनि शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए।
स्ट्यान्डर्डतर्फ द बेस्ट आर्चरीका ग्रिष्मा गुरुङले बाजी मारे। उनले फाइनलमा आर्मीका पवन राईलाई ६–५ ले हराए। तेश्रो भएका आर्मीका डम्बर थापाले टीआईएका विल्भर आचार्यलाई ६–४ ले हराए। विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए।
बेस्ट आर्चरीका प्रजित अग्रवालले पुरुष कम्पाउन्ड स्पर्धाको उपाधि जिते। उनले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापालाई १३९–१३३ ले पराजित गरे। राजधानीका सनातन मल्ल तेश्रो भए। उनले राजधानीकै विवेकसेन गुरुङलाई १३६–१३२ ले हराए। प्रजितले १५ हजार, होमले १० हजार र सनातनले ५ हजार नगद पुरस्कार प्राप्त गरे।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राजधानीका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचन, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे।
राजधानी पब्लिकेसनको बयोजना तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुष ट्रेडिसनलमा ३६, पुरुष रिकर्भमा १६, पुरुष कम्पाउन्डमा ७, महिला रिकर्भमा ६ र स्ट्यान्डर्डमा १५ खेलाडी सहभागी थिए।