
काठमाडौँ: संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्चको प्रधानन्यायाधीशमा प्रस्तावित गोपालप्रसाद पराजुलीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिको आइतबार बिहान बसेको बैठकले दश दिनको समयसीमाभित्र उजुरी भए दिन सर्वसाधरण समेतलाई आग्रह गरेको छ।
समितिले सोमबारदेखि लागू हुनेगरी भावी प्रधानन्यायाधीशका सम्वन्धमा उजुरी लिने निर्णय गरेको हो। समितिको सुनुवाइ कार्यविधि अनुसार उजुरी आह्वान भएको हो।
समितिको आह्वान अनुसार अब सर्वसाधरण समेतले पराजुलीको सेवा, योग्यता, क्षमता र कार्यसम्पादन कुनै उजुरी भएमा पेस गर्न सक्नेछन्। प्राप्त उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। उजुरीकर्तासँग छलफल गरेपछि मात्र समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
समितिको कार्यविधि अनुसार उजुरीकर्तासँग छलफलपछि सुनुवाइ हुनेछ। सुनुवाइपछि समितिले प्रस्तावित पदाधिकारीलाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ। समितिको दुई तिहाई बहुमतले मात्र पदाधिकारीलाई अस्वीकृत गर्न सक्नेछ। अनुमोदनका लागि भने बहुमत सदस्य भए पुग्नेछ।