काठमाडौं: फिल्म ‘धनपति’को युट्युब रिलिज नहुने निश्चित भएको छ। निर्माण कम्पनी टुकी आर्ट्सले फिल्मलाई युट्युबमा सार्वजनिक नगर्ने बारे आधिकारिक जानकारी दिएको छ। यसअघि टुकी आर्टसको प्रस्तुती रहेको सफल फिल्म ‘पशुपति प्रसाद’को युट्युबमा रिलिज गरिएको थियो।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बस्छ। गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्छ। छोरीलाई बोर्डिङ स्कुल पढाउन चाहन्छ। उ इमानदार छ। पिछडिएको यस्तै सानो मान्छेको सानो कथा फिल्मले बोल्छ।
‘धनपति’ केवल विषयवस्तुका उठान मात्र भने होइन। दर्शकका लागि फिल्मको प्राविधिक पक्षको पनि उत्तिकै महत्वपूर्ण हुन्छ। जसका लागि दर्शक हलसम्म पुग्नै पर्छ। फिल्म क्षेत्रको बिकास र नेपाली फिल्म दर्शकलाई हलसम्म पुर्याकउने हेतुका साथ धनपति युट्युबमा रिलिज नगर्ने टुकी आर्टसले जनाएको छ।
निर्माण युनिटका तर्फबाट निर्देशक दिपेन्द्र के खनालले भने,'फिल्म हलमा हेर्नुको मज्जा साना होम थिएटर, मोबाइल वा कम्प्युटरमा पक्कै छैन। फिल्म प्रदर्शनको माध्यम पनि हल नै भएकोले हामीले ‘धनपती’ लाई युट्युबमा नराख्ने निर्णय गरेका छौं।'
फिल्म असार २३ बाट प्रदर्शनमा आउँदै छ। खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको ‘धनपति’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। हाल निर्देशक एवंम लेखक कार्यक्रमका लागि अमेरिकामा छन्। टुकी आर्टसले दिएको जानकारी अनुसार फिल्मको प्रिमियरका लागि दुबैजना यसै साता काठमाडौं फर्कने छन्।
फिल्ममा कलाकारहरु खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे आदिको भूमिका रहेको छ। रोजिना सिटौला निर्मित फिल्मको छायांकन र निर्देशन दीपेन्द्र के. खनालले गरेका हुन्।