PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५ वेपत्ता



रासस

कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५ वेपत्ता

कास्कीः कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्।

पहिरोले घर पुरिदा कास्कीको पस्र्याङपाखामा टंक क्षेत्री १४ वर्षीय वालक र लामाचौर अकालाकी ४० वर्षीय शोभा पौडेलको मृत्यु भएको हो।

पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी, लामाचौर अकालाकी पौडेलको राति पहिरोले घरको भान्छाकोठासहित बगाएर मृत्यु भएको हो। पौडेलेको शव घरभन्दा २ सय मिटर तल पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।

प्यूठानमा एक जनाको मृत्यु, दुई वेपत्ता

प्यूठानमा बाढीपहिरोबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गएराति परेको अविरल वर्षाका कारण पहिरोमा पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। 

दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्तीको पहिरोले पुरिएर मृत्यु भएको छ।

पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको छ। नौबहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई बेपत्ता भएका हुन्। गएरातिदेखि त्यस क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएकाले विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ। 

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको प्रजिअ यदुनाथ पौडेलले जानकारी दिए। वर्षासँगै जिल्लाका अधिकांश बासिन्दा त्रसित भएका छन्। गतवर्षको बाढीपहिराले विस्थापितहरुको हालसम्म व्यवस्थापन हुन सकेको छैन। 

पहिरोले घर पुरिंदा पर्वतमा तीन वेपत्ता

पर्वतको महाशिला गाउँपालिका– १ होस्राङ्दीमा गएराति वर्षासँगै आएको पहिराले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। 

साबिकको होस्राङदी गाविस– १ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिराले पुरिएको हो। घर पुरिंदा मल्ल र उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएका महाशिलाका अध्यक्ष राजु पौडेलले जानकारी दिए। घर माथिबाट आएको पहिराले घर र गोठ पूरै पुरिएको हो। 

बेपत्ता भएकाको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ राजेश पन्थीले जानकारी दिए।

पहिराले सोही ठाउँका तिलबहादुर मल्लको गोठसमेत पुरिएको छ। वर्षाबाट विभिन्न ठाउँको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell