PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री



रासस

उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन्। 

त्रिवि सभाको ५८ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने बताए। उनले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पुर्याउन आवश्यक रहेको र यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्ने औंल्याए। 

प्रधानमन्त्री देउवाले सबै सरोकार भएकाहरुसँग समन्वय गरी विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत विषयमा आवश्यकतानुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न आग्रह गरे। 

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गराउन आग्रह गरे। 

त्रिविका कुलपति प्रा डा तीर्थराज खनियाले विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र लागू गरेको सेमेस्टर प्रणाली व्यवस्थित गरेको, प्रविधियुक्त शिक्षाको थालनी गरी वाइफाइ र इ–लर्निङको व्यवस्थाका साथै दूरशिक्षाकोसमेत थालनी गरेको जानकारी दिए। 

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ सम्मका अवधिमा तोकिएका आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका ८६ हजार २९२ जना विद्यार्थी रहेको जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell