PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

भारतमा करसम्बन्धि नयाँ कानुन, नेपालमा महँगी बढ्छ कि घट्छ?



राधेश्याम पटेल

भारतमा करसम्बन्धि नयाँ कानुन, नेपालमा महँगी बढ्छ कि घट्छ?

वीरगञ्ज : भारतले शनिबारदेखि मालसामान तथा सेवा व्यवसाय कर जिएसटी कार्यान्वयनमा ल्याएको छ। भारतमा राज्य तथा केन्द्र सरकारबीच लिइने करिब पाँच सय विभिन्न कर हटाएर भारतभरि लागू गरिएको एकीकृत कर जिएसटीले विदेशमा समेत चर्चा पाइरहेको छ।
 
भारतभित्रै जिएसटी शुभारम्भ गर्ने दिन प्रतिपक्ष दल कांग्रेस आर्इले भने संसद बहिष्कार गरेको छ। जिएसटी लागू गर्ने विषयमा विमति नभए पनि समय नदिर्इ लागू गरिएको भन्दै कांग्रेस आर्इले संसद बहिष्कार गरेको हो। भारतमा लागू भएको जिएसटीले नेपाललार्इ कस्तो प्रभाव पर्ने भन्ने प्रश्न तेर्सिएको छ।
 
भारतसँग नेपालको झण्डै ७० प्रतिशत व्यापार हिस्सा रहेकोले जिएसटीले नेपाललार्इ पक्कै प्रभाव पार्नेछ। जिएसटीको प्रभावका बारेमा नेपालका राजस्व प्रशासनले भने कुनै अध्ययन गरेका छैनन्। जिएसटीको प्रभावका बारेमा वीरगञ्ज र रक्सौंलका व्यवसायीसँग गरिएको कुराकानी।
 

नेपालको लागि बरदान : महेश अग्रवाल

‘जिएसटी भारतसँगै नेपाललार्इ समेत प्रत्यक्ष प्रभाव पार्नेछ। जिएसटी लागू भएपछि नेपाली उपभोक्ताले सस्तोमा सामान पाउनेछन्। नेपाली उपभोक्ताले रक्सौलमा कुनै सामान खरिद गरेर भन्सार तिरेर ल्यायो भने नेपाली उपभोक्तालार्इ सस्तो पर्छ। जिएसटीले राजस्व छलेर सामान ल्याउन निरुत्साहित गर्छ र वैधानिक प्रकृयाबाट सामान ल्याउनलार्इ प्रोत्साहित गर्छ। 
 

कपडा महँगो, प्रकृया जटिल :  बिमलकुमार रुगटा, कपडा व्यापारी 

‘यो नीतिले कपडा व्यापारमा ८ प्रतिशत कर थपेको छ। हरेक महिनाको १० तारिखमा व्यापारीले विवरणसहितको कर बुझाउनुपर्छ, यदि कसैले बुझाएन भने जरिवानासहित ५ वर्षको जेल सजाय हुने प्रावधान छ। यो नीतिले कपडा व्यवसायीलार्इ निरुत्साहित गरेको छ। कर नीति ठीक भए पनि प्रकृया गलत छ। हरेक महिना व्यापार गर्न छाडेर कम्प्युटरमा हिसाब गर्न बस्नुपर्ने अवस्था सिर्जना भएको छ। भारतबाट आयात गरेर नेपाल लैजाने कपडाको मूल्य बढ्छ।
 

नेपाल– भारत व्यापार दोब्बर हुन्छ : राजकुमार गुप्ता, अध्यक्ष इण्डो-नेपाल चेम्बर अफ कमर्श रक्सौल

 
जिएसटी जनताका लागि सहज बनाउन ल्याइएको कर हो। कांग्रेस आर्इले १४ वर्षअघि सुरु गरेको अभियानले अहिले सार्थकता पाएको छ। यसले कालो धनलार्इ नियन्त्रण गर्छ भने इमान्दार व्यवसायीलार्इ प्रोत्साहन गर्छ। पाँच सय भन्दा बढी करलार्इ विस्थापित गरेर सहज र सरल कर कार्यान्वयनमा आउनु सुखद् पक्ष हो।

 

सीमा बजारमा नेपाली ग्राहक घट्छ  : लक्ष्मण प्रसाद चौरसिया,  सचिव रक्सौल चेम्बर अफ कमर्श 

‘पहिलेको तुलनामा ६ प्रतिशत साइकलमा कर बढेको छ। जिएसटीसँगै साइकलमा १२ प्रतिशत कर लाग्छ। सीमापार गरेर साइकल किन्न आउने ग्राहक घट्नेछन्। अब वीरगञ्ज र रक्सौंलको साइकलको मूल्य एउटै भएपछि रक्सौंलमा किन किन्न आउँछ? फलफूल, तरकारी, दूध लगायतका उपभोग्य वस्तुमा जिएसटी लागू भएको छैन। यो सामान भारतमा सस्तो पर्न सक्छ।

भारत–नेपाल व्यापारको लागि सकारात्मक कदम : रबिन्द्रनाथ पाठक

 यो भारत –नेपाल व्यापारको लागि साह्रै नै सकारात्मक कदम हो ।व्यापारीले अब धेरै ठाउँमा कर बुझाउन जानुपर्दैन यसले समय र श्रमको बचत गर्छ। जिएसटीमार्फत ५ ,१२ ,१८ र २८ प्रतिशत भन्दाबढी गरी चार वर्गमा कर निर्धारण गरिएको छ। जुन वस्तु अत्यधिक प्रयोगमा छ, त्यसमा कर निर्धारण गरिएको छैन्। दुध, अन्न, फलफूल, तरकारीमा कर छैन। पेट्रोलियम र मदिरामा राज्य सरकारले कर निर्धारण गर्ने तयारी गरेको छ। यसले मालवस्तु खरिद वापत कारखाना देखि उपभोक्ता सम्म इन्पुट क्रेडिट दिएको छ। विगत डेढ दशक देखि यस नीतिका बारेमा चर्चा चल्दै आएको थियो। नेपालको सन्दर्भमा यो नीति रामबाण साबित हुन्छ। भूपरवेष्ठित राष्ट्र नेपालको मुख्य बजार भारत भएकाले भारतबाट मालवस्तु नेपाल भित्र्याउँदा करको दर घट्छ।
 

बिचौलियाको बाटो बन्द :  सन्जय अग्रवाल, छाला व्यवसायी वीरगञ्ज

नेपालमा भ्याट र भारतमा जिएसटी एउटै हो। नेपालमा महँगी बढ्छ भन्ने भ्रम छरिएको छ। यो सरासर गलत कुरा हो। जिएसटी लागू भएपछि एकदेखि डेढ प्रतिशत करमा फरक हुन्छ। भारतबाट आयात गर्ने मालवस्तुमा विचौलियाको बाटो बन्द हुने पक्का छ। तेस्रो मुलुकबाट भारतबाट आयात गरिने मालवस्तु सस्तो हुने भएकोले तेस्रो मुलुकको आयात कम र भारतबाट आयात बढ्नेछ।
 

नेपाललाई फाइदा गर्छ : सुरेश रुंगटा

सोमवार सम्म आधिकारिक परिपत्र आउनेछ। त्यसपछि नेपाली सम्पूर्ण व्यवसायीको  द्विविधा हट्नेछ। भारतको यो कदम सकारात्मक छ। नेपालका लागि भारतले कुनै विशेष सुविधा दिएको छ कि छैन हेर्न बाँकी छ। सामान्य रुपमा बुझ्दा यसले नेपाललार्इ फाइदा गर्छ। यो नीतिले नेपालको व्यापार पनि राम्रो हुन्छ।
 

केही भन्न सकिँदैन :  सन्तोष यादव, सूचना अधिकारी, वीरगञ्ज भन्सार

अहिलेसम्म भारतबाट कुनै आधिकारिक पत्र आएको छैन। जिएसटी लागू भएपछि केही सामानको भाउ नेपालमा घट्छ भनिएको छ। तर अहिल्यै भन्न सकिँदैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell