PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगर महानगरमा मतगणना छिटो गराउन माग, अहिलेकै अवस्थामा परिणाम आउन तीन हप्ता लाग्ने



पहिलोपोस्ट

विराटनगर महानगरमा मतगणना छिटो गराउन माग, अहिलेकै अवस्थामा परिणाम आउन तीन हप्ता लाग्ने

विराटनगरः राजनीतिक दलले विराटनगर महानगरपालिकाको मतगणना अत्यन्त ढिलो भएको भन्दै छिटो गराउन माग गरेका छन्।

महानगरपालिकाका १९ मध्ये हाल ७ वटा वडाको मतगणना भइरहेको छ। असार १४ गते भएको दोस्रो चरणको निर्वाचनको भोलिपल्टै अर्थात् १५ गतेदेखि महानगरको वडा नं. १ को मतगणना सुरु भएको अझै सकिएको छैन।

वडा नं. १ मा हालसम्म २ हजार ७ सय मत गणना भइसकेको र अझै १ हजार ८ सय मत गणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडा नं. १ मा ४ हजार ५ सय ११ मत खसेको थियो।

यही हिसाबले मतगणना भएमा अन्तिम परिणाम सुन्न तीन हप्ता कुर्नुपर्ने देखिन्छ। विराटनगरको वडा नं. १६ को गणना कर्मचारी अपुग भएकाले शनिबार गणना रोकिएको थियो।

महानगरमा नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले निर्वाचन कार्यालयलाई आफूले मत गणना छिटो गर्न दबाब दिएको जानकारी दिए।

‘हामी मुख्य राजनीतिक पार्टीहरू गणनामा आफ्ना प्रतिनिधिहरू पर्याप्त सङ्ख्यामा दिन सक्षम छौं,' उम्मेदवार पराजुलीले भने, 'तर कर्मचारीको अभाव भन्दै सरकारी पक्षले थप गणना गर्न मानिरहेको छैन। यो सरकारी अकर्मण्यता र अक्षमताले गणनाको अवधि बढ्ने देखिएको छ।’
एमालेका मेयरका उम्मेदवार विनोद ढकालले पनि मतगणना ढिलो भएकोमा आक्रोश पोखेका छन्।

‘मतगणना ढिलो हुँदा खेतीपातीको मध्य सिजनमा धेरै किसान दाजुभाइको काममा अवरोध आएको छ,’ ‘राज्यले एउटै एजेन्डामा सर्वसाधारणलाई धेरै दिन अल्झाएर राख्न मिल्दैन। महानगरका १९ वटै वडाको मतगणना एकै पटक सुरु गर्न हामीले माग गरेका छौँ। हामी जति पनि प्रतिनिधि दिन सक्छौँ।’

मतगणनामा काङ्ग्रेसबाट प्रतिनिधि बसेका टीका खतिवडाका अनुसार एउटा मतपेटिकाबाट मत खसाएर त्यसलाई मिलाएर राख्न नै २ घण्टाभन्दा बढी समय लाग्छ। 

मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार प्रत्येक मतगणनास्थलमा ८ घण्टाको एक सिफ्टमा ६ कर्मचारी खटाइएको छ। यसरी ७ वटै वडामा ३ सिफ्ट गरी १ सय २६ कर्मचारी काम गरिरहेका छन्। तर अन्य पर्याप्त कर्मचारी आउन मानिरहेका छैनन् र सरकारी कामकाज प्रभावित हुने भन्दै सम्बन्धित कार्यालयले कर्मचारी दिन मानिरहेका छैनन्।

प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले कर्मचारी अपुग हुने भएपछि अब सरकारी शिक्षक राखेर गणना स्थल बढाइने जानकारी दिए।

‘जिल्ला शिक्षा अधिकारीसँग हाम्रो समन्वय भइसकेको छ’, प्रजिअ कोइरालाले भने, ‘अहिले प्रायः विद्यालयमा मीनपचासको छुट्टी छ। शिक्षक खाली भएको अवस्था पनि छ। अब शिक्षक साथीहरू राखेर कम्तीमा १० स्थानमा गणना गर्ने तयारी भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell