लहान : आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ।
अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ हजार ४२८ सय मेट्रिक टन आँप उत्पादन भएको कार्यालयका बागबानी अधिकृत विन्देश्वर यादवले बताए।
गतवर्ष चार हजार ९५० हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ५ प्रतिशतका दरले ४२ हजार ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्याएपछि आँप खेतीको क्षेत्रफल बढेपनि उत्पादन घटेको बागबानी अधिकृत यादवले बताए। आँपको उत्पादन घटेसँगै सिरहामा आँपको मूल्य बढेको छ।
यसवर्ष लहानसहितका बजारमा मालदह आँप प्रतिकिलो १००, बम्मई आँप प्रतिकिलो १२०, सरही आँप ६०, अन्य आँप प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । जवकी गतवर्ष सिरहामा प्रतिकिलो मालदह ५०, बम्मई ४० र अन्य आँप ३० का दरले बिक्री भएको थियो ।
आँपको सुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन्। आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।
यहाँको आँप काठमाडौं, विराटनगर, पोखरासहित मुलुकका विभिन्न सहर र भारतमासमेत निर्यात हुँदै आएको छन्। रासस