PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

मनसुन सक्रिय नहुँदा चितवनमा १५ प्रतिशत मात्रै रोपाइँ



रासस

मनसुन सक्रिय नहुँदा चितवनमा १५ प्रतिशत मात्रै रोपाइँ

चितवन : मनसुन सक्रिय नहुँदा चितवनमा हालसम्म १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनमा ५० प्रतिशत धान रोपाइँ भएको छ भने पश्चिम चितवनको धान रोपाइँ न्यून भएकाले समग्र प्रतिशत १५ प्रतिशत हाराहारी रोपाई भएको छ। 

जिल्लाको पश्चिमी क्षेत्रमा कतिपय ठाउँमा अहिलेसम्म धानको बीउ राख्ने कार्य हुँदैछ तर गतवर्ष यतिबेला ३० प्रतिशत धान रोपाइँ भएको जानकारी दिए ।

जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान र पाँच हजार हेक्टरमा चैते धान रोपाइँ हुने गरेको छ। लामिछानेका अनुसार यसवर्षको वर्षे धान लगाइने क्षेत्रफल २०० हेक्टर हाराहारी घटेको छ। 

माछापालन ५० हेक्टर, प्लटिङ र केरामा १५० हेक्टर जमिन प्रयोग भएपछि धान रोपाइँ गर्ने क्षेत्रफल घटेको हो। गतवर्ष चैते धान १२ हजार मेट्रिक टन र वर्षे धान एक लाख ८ हजार मेट्रिक टन गरी एक लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

कार्यालयले यसवर्ष एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ। 

जिल्लामा सावित्री, राम धान (वार), सामा मन्सुली, हर्दिनाथ १, राधा ४ सहित हाईब्रिड जातमा गोरखनाथ, लोकनाथ, यूएस ३१२ लगायतका धान लगाईने गरिन्छ। लामिछानेका अनुसार १० प्रतिशत हाईब्रिडका धान लगाईदै आएको छ। 

कार्यालयका प्रमुख सुधिर श्रेष्ठले भरपर्दो सिंचाई भएका ठाउँ बाहेकमा रोपाई हुन नसकेको बताए । मनसुन सक्रिय नहुँदा यसवर्ष धान रोपाईमा ढिलो हुने देखिएको उनले बताए। 

धेरै खेतमा आकाशे पानीको भरपर्नुपर्ने हुँदा रोपाईमा ढिलाई भएको पनि उनले बताए। कुलोबाट सिंचाई हुने र ठूला घोलहरुमा मात्र रोपाई भएको छ । जिल्लामा साउन अन्तिमसम्म धान रोपाई हुने गर्दछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell