विराटनगरः १०१ थान मतपत्रको परिणाम ‘भुलवश’ एमालेको खातामा जोडिएपछि शनिबार साँझदेखि रोकिएको मोरङको धनपालथान गाउँपालिकाको मतगणना अझै सुरु भएको छैन। मतगणना कसरी खुलाउने भनेर निर्वाचन अधिकृत टोलराज उपाध्याय सदरमुकाम विराटनगर आइपुगेका छन्।
अधिकृत उपाध्यायका अनुसार वडा नम्बर २ को १ सय १ थान मतपत्रमा यस्तो समस्या आएको हो। वडामा २ हजार ९ सय मत खसेको थियो।
‘हामीले वडा नं. २ का मत ३३ लटमा गणना गरेका हौँ’, टोलराजले भने, ‘यसमध्ये १ लटको मतपरिणामलाई कम्प्युटरका साथीले भुलवश एमालेको खातामा जोड्नुभएछ। यसमा १ सय १ मतपत्र थिए। पछि अन्तिम मुचुल्का बनाउने बेलामा हिसाब नमिलेपछि क्रस चेक गर्दा यस्तो पत्तालागेको हो।’
‘हामीले मतपरिणामको घोषणा गरेका छैनौँ’, अधिकृत उपाध्यायको भनाइ थियो, ‘कम्प्युटरका साथीले पनि आफ्नो भूल स्वीकार सक्निुभएको छ। मुचुल्का सच्याउने काम भइसेको छ। तर अन्य राजनीतिक दलका साथीहरूले मतगणनालाई निरन्तरता दिन मान्नुभएन।’