
बगदाद : इराकमा भइरहेको हिंसात्मक द्वन्द्वका क्रममा परी गत जुन महिनामा मात्र कम्तीमा पनि ४११ जनाको मृत्यु भएको छ।
यस अवधिमा अरु २९४ जना घाइते भएका इराकस्थित राष्ट्रसङ्घीय मिसनका अधिकारीहरुले जानकारी दिएका छन्।
मिसनको कार्यालयद्धारा जारी वक्तव्य र मिसनले सार्वजनिक गरेको तथ्याङ्कमा सुरक्षाकर्मीतर्फ मारिएकाहरुको विवरण भने समावेश गरिएको छैन।
मारिएका सर्वसाधारणमध्ये अधिकांश इराकको उत्तरी प्रदेश निनेभेहका रहेका छन्। जहाँ २८९ जना मारिएका थिए भने अरु ९३ जना घाइते भएका छन्।
इराकी सुरक्षाकर्मीहरु र इस्लामिक स्टेट (आइएस) का लडाकूहरुबीच पश्चिम मोसुलमा भएका भिडन्तहरुमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
इराकका लागि राष्ट्रसङ्घीय प्रतिनिधि र मिसन प्रमुख जान कुबिसले मोसुलमा भइरहेको द्वन्द्व र आईएस लडाकूहरुको आक्रमणबाट आम नागरिकलाई जोगाउन आह्वान गरेका छन्।
आतङ्ककारीहरुको समूहले लगातार आमनागरिकलाई नै लक्षित गर्नुका साथै उनीहरुलाई नै ढाल बनाएर अघि सार्ने गरेका अधिकारीहरुको भनाई छ।
इराकका कतिपय उत्तर पश्चिमी क्षेत्र सन् २०१४ जुनदेखि नै आइएसको नियन्त्रणमा छन्। लामो समयदेखिको अस्थीरता र लगातारको हिंसाका कारण यहाँका नागरिकमा अत्यन्तै निराशा देखिन्छ।
जसका कारण पनि आइएसका गतिविधिहरुमा तीब्रता देखिन्छ। ती भूभाग फिर्ता लिन इराकी सुरक्षा निकायहरुले निकै सङ्घर्ष गरिरहेका छन्। तर सफलता प्राप्त हुन सकिरहेको छैन। रासस/सिन्ह्वा