PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

वैदेशिक रोजगारीबाट फर्किएका ८ उद्यमीलाई सरकारले  गर्‍यो पुरस्कृत



रासस

वैदेशिक रोजगारीबाट फर्किएका ८ उद्यमीलाई सरकारले  गर्‍यो पुरस्कृत

काठमाडौँ : वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेकाहरुलाई श्रम तथा रोजगार मन्त्रालयले पुरस्कृत गरेको छ। 

वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र सात जनालाई ५० हजार रुपैयाँका दरले उद्यमी पुरस्कार प्रदान गर्ने घोषणा गर्दै गत माघमा आवेदन माग गरेको थियो। 

आवेदन दिएकामध्ये उत्कृष्ट भएकाहरुलाई आइतबार आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले पुरस्कार प्रदान गरे। 

कार्यक्रममा रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको मनकामना कार्डबोर्ड उद्योगका सञ्चालक सूर्यप्रसाद न्यौपानेलाई एक लाख राशिको उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरियो। 

उनले तीन वर्ष कोरिया बसी स्वदेश फर्किएपछि पाँच वर्षअघि सञ्चालन गरेको कागज, गाता तथा यस्तै वस्तुबाट प्याकिङ सामग्री (कार्टुन बक्स) उत्पादन गर्ने उद्योगमा ४७ जनालाई रोजगारी दिइरहेका छन्। 

५० हजार राशिको उद्यमी पुरस्कार पाउनेहरुमा हिमाली हिल एग्रिकल्चर फार्म प्रालि चैनपुर, सङ्खुवासभाका सञ्चालक सञ्जय शेर्पाले सफल अलैँची, चिराइतो, बोधिचित्तको खेती गरेको, दोलखा जिरीका सर्वाखास कृषि फार्मका सञ्चालक पासाङ तेन्जी शेपाले किबी र सतुवाको बिरुवा व्यावसायिक उत्पादन गरेको, तयारी पोसाक उद्योग, कृषि, पशुपालन व्यवसायमा संलग्न देवचुली, नवलपरासीका शालिकराम पुरीले सिग्मा एन्ड सिजन तयारी पोसाक उद्योगका सञ्चालन गरेका छन्। 

यसैगरी जडीबुटी खेती, केरा खेतीलगायतका व्यवसायमा संलग्न गुलरिया बर्दियाका आधुनिक कृषि तथा जडीबुटी व्यावसायिक फर्मका सञ्चालक टोपलाल विक, पशुजन्य व्यवसाय सञ्चालन गरेका नेपालगन्जका फ्रेस हाइजेनिक फुडका सञ्चालक दीपेन्द्रकुमार जोशी, विद्युत् वायरिङसम्बन्धी प्लास्टिकका सामान उत्पादनमा संलग्न बुटवल, रुपन्देहीको मनकामना हाइड्रो इलेक्ट्रिक प्रोडक्टका सञ्चालक हिरामणि भट्टराई र सीपमूलक तालिम प्रदान गर्ने तथा कृषि उत्पादनमा सक्रिय कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालि, बाराका सञ्चालक सरोज कोइरालालाले पनि जनही ५० हजार राशिको उद्यमी पुरस्कार पाएका छन्। 

सो अवसरमा मन्त्री मन्सुरले एक पटक विदेश गएर स्वदेश फर्किएपछि पुनः विदेशमै रोजगारीका लागि जाने परिपाटी अन्त्य गर्दै स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पुरस्कृत व्यक्तित्वहरुबाट अरुले ग्रहण गर्ने विश्वास व्यक्त गरे। 

आवेदन परेकामध्येबाट उत्कृष्टलाई छान्न श्रम तथा रोजगार मन्त्रालयका सहसचिवको संयोजकत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, घरेलु तथा साना उद्योग विभागका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, मन्त्रालयका कानुन उपसचिव रहेको सिफारिस समिति गठन गरिएको थियो। 

राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सिर्जनाका आधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्था बमोजिम अहिले मन्त्रालयले पहिलो पटक पुरस्कृत गरेको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell