काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भूकम्पपीडितसँग अनुदान सम्झौता र किस्ता वितरण छिटो हुन थालेको जनाएको छ।
प्रदेश नं ३, ४ र ६ मा जेठ दोस्रो साता जनप्रतिनिधि निर्वाचित भई काम सुरु गरेपछि काममा तीव्रता आएको मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको हो। निर्वाचित प्रतिनिधिले काम सुरु गरेको एक महिनामा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही २१ हजार २२३ ले बढेका छन्।
त्यसैगरी, दोस्रो किस्ता लिनेको सङ्ख्या २२ हजार ११० ले बढेको छ। त्यसैगरी तेस्रो किस्ताको एक लाख लिनेको सङ्ख्या ९०४ ले बढेको एकाइका इन्जिनियर वीरेन्द्र कँडेलले जानकारी दिए।
जेठ १६ सम्म पाँच लाख ८१ हजार ७१९ घरधुरीसँग अनुदान सम्झौता भएकामा असार १६ मा छ लाख १७ हजार ६७४ पुगेको छ। एक महिनामा ३५ हजार ९५५ घरधुरीसँग सम्झौता भयो। यसअघि यो रुपमा कामले गति नलिएको उनले बताए।
निर्वाचित प्रतिनिधिले काम सुरु गर्नुअघि पाँच लाख ६२ हजार २१३ ले पहिलो किस्ता पाएकामा असार १६ मा पाँच लाख ८३ हजार ४३६ ले पहिलो किस्ता लिएका छन्। दोस्रो किस्ता पाउनेको सङ्ख्या पनि एक महिनामा १८ हजार ७३९ बाट ४० हजार ८४९ पुगेको छ।
यो अवधिमा तेस्रो किस्ता लिनेको सङ्ख्या एक हजार २०५ बाट दुई हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ। असार १४ गते प्रदेश नं १, ५ र ७ मा पनि स्थानीय तहको निर्वाचन भई मतगणना भइरहेको छ। यी तीन प्रदेशमा पनि निर्वाचनपछि पुनःनिर्माणमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ। रासस