
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत गत १४ गते भएको निर्वाचन अन्तर्गत २ सय स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। यो समाचार तयार पर्दासम्म सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेलाई ९१ स्थानको नेतृत्व प्राप्त भएको छ।
एमालेको पछिपछि रहेको नेपाली कांग्रेसले ८१ स्थानीय तहको नेतृत्व हात पारेको छ। सत्तारुद्ध दल नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म २६ स्थानीय तहमा जीत हात पारेको छ।
साना दलहरुबाट राष्ट्रिय जनमोर्चाले सबैभन्दा बढी दुई स्थानीय तहमा जीत हात पारेको छ भने नेपाल लोकतान्त्रिक फोरमले एक र संघीय समाजवादी फोरमले एक स्थानमा जीत हात पारेका छन्।
सबैगरी अहिलेसम्म कूल दुई सय एक स्थानको मतपरिणाम सार्वजनिक भएको छ। मत परिणाम आउने क्रम जारी छ। कैलालीको धनगढी उपमहानगरपालिकामा मत गणना दलीय किचलोका कारण स्थगित भएको छ।
दोस्रो चरणको निर्वाचन मध्येको एक मात्र महानगरपालिका विराटनगरमा मत गणनाको गति ढिला भएको भन्दै उम्मेदवारहरुले नै छिटो गर्न दवाव दिएपछि शिक्षकहरु राखेर मतगणना स्थल बढाउने तयारी भइरहेको छ।
झापामा पनि मत गणना ढिला भएको भन्दै उम्मेदवार र राजनीतिक दलहरुले गुनासो गरिरहेका छन्।