PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विराटनगर महानगरमा मत नै गायब !  कहाँ गयो यादवको ९ मत ?



अनन्तराज न्यौपाने

विराटनगर महानगरमा मत नै गायब !  कहाँ गयो यादवको ९ मत ?

विराटनगरः विराटनगर महानगरपालिकामा भइरहेको मतगणनामा आइतबार बिहान ७ बजे निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार सङ्घीय समाजवादी फोरमका प्रमुखका प्रत्यासी उमेश यादवको मत २ हजार १ सय ३१ थियो।

अपरान्ह ४ बजे गणनामा बसेका कर्मचारीले यादवको कूल मत २ हजार १ सय २२ भएको हिसाब निकाले। यादवको ९ मत कहाँ गयो ?

यही समस्याका कारण आइतबार साँझ ५ः४५ बजेसम्म कार्यालयले परिणाम घोषणा गर्न सकेको छैन।
 
अहिलेसम्म कति मतगणना भयो र कति बाँकी छ भनेर मुख्य निर्वाचन अधिकृत विनोद पोखरेललाई सोध्यो भने उत्तरमा वास्तविक तथ्याङ्क आउँदैन।

‘त्यही १२ हजारजति भयो होला’, पोखरेलको उत्तर हुन्छ, ‘खै जोडेर कसैले राखेको छैन।’ 

यसैबीच, नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमले मुख्य निर्वाचन अधिकृतलाई मतगणनास्थलमा आधा घण्टा घेराउ गर्दै मतगणना र घोषणालाई व्यवस्थित गर्न माग गरेका छन्।

घेराउमा कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली, एमालेका विनोद ढकाल, माओवादी केन्द्रका घनश्याम पोखरेल र फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव र कार्यकर्ता थिए।

पराजुलीका अनुसार १ हजार मत गणना भइसकेपछि पछिल्लो परिणामको घोषणा गर्न  तथा यति मतगणना भइसकेको र यति बाँकी रहेको भन्ने सूचना पनि सार्वजनिक गर्न मुख्य निर्वाचन अधिकृतलाई आग्रह गरिएको छ।

साथै घोषणाको प्रतिलिपि मुख्य राजनीतिक दलका प्रतिनिधिलाई उपलब्ध गराउन पनि माग गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell