नेपालगञ्ज : भेरी प्राविधिक शिक्षालयको छतभित्र नेपालगञ्ज उपमहानगरको मतगणनामा भइरहेको तीन दिन भयो।
मतगणना हुँदै गर्दा आइतबार दिउँसोसम्म राप्रपाका धवल शम्शेर दोब्बर मतअन्तरले सबैभन्दा अगाडि देखिएका छन् भने दोस्रो स्थानमामा कांग्रेसका सुरेश कुमार कनोडिया र तेस्रो स्थानमा एमालेका समशुद्दिन सिद्दिकी रहेका छन्। त्यस्तै माओवादी केन्द्रका दामोदर आचार्य भने चौथो स्थानमा छन्।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ७,८,९,२०,२१,२२ र २३ को नतिजा सार्वजनिक भइसकेको छ। त्यसमा राप्रपाले वडाअध्यक्ष दुई वटा वडामा मात्रै जितेको छ। तर जब मेयरको मतगणना हुन्छ, तब भेरी प्राविधिक शिक्षालयको हलमा सबैभन्दा बढी गुन्जिने शब्द नै ‘गाई’ हुन्छ।
अन्य राजनीतिक दलको गढबाट पनि उल्लेखनीय मत प्राप्त गर्दै धवलले प्रमुख दलहरुलाई राम्रै धक्का दिइरहेका छन्।
वडाहरुको नतिजा सार्वजनिक हुने बित्तिकै वडाबासीहरु मतगणना स्थल अगाडि एकत्रित हुन्छन् र आफ्ना वडाका निर्वाचित प्रतिनिधिहरुलाई फूलमाला लगाएर विजय र्यालीमा निस्किन्छन्।
एउटा पार्टीबाट चुनाव प्रचार-प्रसारमा हिँडेको मानिस आज अर्कै पार्टीको विजय र्यालीमा देखिनुलाई यहाँ कुनै ठूलो कुरा मानिँदैन। आफन्त र दाजुभाइ दिदीबहिनीको दल एउटा हुन्छ भने उनीहरु फरक पार्टीका कार्यकर्ता हुन्छन्। पार्टी भन्दा पनि उम्मेद्वार बढी महत्वको विषय बन्नुको कारण यही हो।
नेपालगञ्ज वडा नम्बर १८ को मतगणना भइरहेकै बेला मतगणना स्थल अगाडि नतिजा पर्खदैँ बसेकाले सँगै बसेका साथीलाई चियाको चुस्की मार्दै भन्छन्, 'नेपालगञ्जका मतदाताहरुलाई पार्टीको प्रतिनिधि होइन, असल मान्छेलाई जिताउनु रहेछ।' आफ्नो पार्टीले चुनाव हारेपनि कार्यकर्ता खुसी नै देखिन्छन्।
वडा नम्बर २१ बाट चुनाव हारेका एक प्रतिनिधि पनि मतगणना स्थलमै भेटिए। चुनावी नतिजामा उनको राय जनताले पार्टी भन्दा जनप्रतिनिधिलाई नियालेर भोट दिएको भन्ने थियो।
कांग्रेसको गढ मानिने नेपालगञ्ज उपमहानगरमा कांग्रस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच बिना तालमेल उम्मेद्वारी थियो।
अहिलेसम्मको नतिजा अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बाट एमालेका प्रमोद रिजालले जित हात पारेका छन्। नेपाली कांगेसको पकड क्षेत्र मानिने वडा नम्बर २ मा कांग्रेसकै उम्मेद्वार सुनिल सिंह हमाल विजयी भए।
त्यस्तै वडा नम्बर ३ बाट माओवादी केन्द्रका उम्मेदवार अयुब सिद्दिकीले जित हात पारे। वडा नम्बर ३ मा राप्रपाका उम्मेदवार वडा अध्यक्षमा पराजित भयो तर मेयरमा धवलशमशेरले पराजित वडा अध्यक्षले भन्दा धेरै मत पाउन सफल भए।
राप्रपाले विजय झण्डा फहराएका वडा हुन् ४ र ५। वडा नम्बर ४ मा राप्रपाका सफिक नद्दाफ विजयी भए भने वडा नम्बर ५ मा कैफुलवरा अन्सारी विजयी भए।
वडा नं. ७ मा माओवादी केन्द्रका जुम्मन खाँ विजयी भए। उक्त वडामा नेपालगन्जका लागि प्रमुख पदमा सबैभन्दा बढी राप्रपाका उम्मेदवार डा. राणाले ३ सय ९८ मत प्राप्त गरेका हुन्।
त्यस्तै वडा नम्बर २३ मा संघीय समाजवादी फोरमको सम्पूर्ण प्यानल नै विजयी भएको छ। अध्यक्षमा फोरमका उम्मेदवार मोहमम्मद हुसेन रहेका छन्।