PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

साझा, विवेकशील र नयाँ शक्तिको मोफसल परीक्षा, को कति पानीमा?



सूर्य खड्का

साझा, विवेकशील र नयाँ शक्तिको मोफसल परीक्षा, को कति पानीमा?

काठमाडौं : नयाँ दलहरु नयाँ शक्ति, साझा पार्टी र विवेकशील नेपालका लागि दोस्रो चरणको चुनाव एउटा परीक्षा हो मान्ने हो भने परिणाम के त? नयाँ शक्ति धर्मराउँदै केही तहमा उत्रियो तर पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र युवा केन्द्रित विवेकशील दल भने पत्तासाफ नै भए। 

असार १४ मा सम्पन्न स्थानीय तहको दोस्रो चरणको चुनावी नतिजाले केन्द्रीय राजनीतिमा निकै चर्चामा रहेका नयाँ दलहरु मध्ये नयाँ शक्तिलाई केही स्थानमा वडा स्तरीय विजय हात लागेको छ भने विवकेशील दल र साझा पार्टी सबैतिर करिबकरिब जमानत जोगाउन नसक्ने स्थितिमा पुगेका छन्। 

आइतवारसम्मको चुनावी परिणाममा नयाँ शक्तिले दोस्रो चरणमा चुनाव भएका प्रदेश १, ५ र ७ का ३३४ स्थानीय तह मध्ये कुनै पनि महानगर, उपमहानगर, नगर तथा गाउँपालिकामा एक सिट पनि जित्न सकेको छैन। उसले आधा दर्जन बढी वडामा भने कँही एकल त कही मिलिजुली जित हासिल गर्‍यो। केन्द्रीय तहमा जुन उचाई र प्रचार थियो नयाँ शक्तिका नेता तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको, त्यही तुलनामा उनको स्थानीय प्रभाव पूरै शक्तिहीन बन्यो।

देशका भूतपूर्व प्रधानमन्त्री र बौद्धिक वाम नेता र नयाँ वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा आफूलाई दावी गर्ने डा. बाबुरामले स्थानीय रुपमा जति जित हासिल गरे त्यसमा आड थियो संघीय समाजवादी फोरमसंगको चुनावी तालमेल। संघीय समाजवादीको चुनाव चिन्ह मशाल सापटी लिएर उनी स्थानीय चुनावमा होमिएका कारण पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही वडामा जित हासिल गर्‍यो। 

अन्तिम चुनावी नतिजा आउँदासम्म नयाँ शक्तिले वडास्तरीय विजयका केही संख्या थप्न सक्छ भने संघीय समाजवादीको पोल्टोमा थपिने विजयले पनि उसको जितको हिस्सामा केही अंक थप गर्न सक्नेछ।

बिलाउँदै विवेकशील र साझा पार्टी 

पूर्व पत्रकार रवीन्द्र मिश्रको साझा पार्टी होस् वा विवेकशील, दोस्रो चरणको मतदानले जनतामा उनीहरुको हैसियत के छ भन्ने थाहा पाउने अवसर मात्रै सावित भएको छ। जसरी यी नयाँ ३ दल चुनावै जितिहल्ने गरी आक्रामक चुनावी प्रचार वा माहौल नबनाउँदै मतदाता सामु पुग्न सकेका थिएनन्, त्यसैगरी यिनीहरुले ठूला दलहरु कांग्रेस, एमाले र माओवादीलाई असरदार धक्का दिने गरी स्थानीय मतदाताको मत पनि बटुल्न सकेनन्। काठमाडौंका इलिटहरुको मत बटुलेर चर्चामा रहेका साझा र विवेकशील मोफसलमा रित्ता देखिए।  

साझा पार्टीले सुनसरीको इटहरी नगरपालिकामा उपमेयर उम्मेद्वार बनाएका पूर्व पत्रकार प्रकाशचन्द्र परियारले ५ वडाको मतगणना सकिदासम्म पनि १०० मत कटाउन सकेनन् भने समाजसेवीका रुपमा चर्चा गरिएकी मेयरकी उम्मेद्वार डाक्टर तारा काफ्लेको हालत पनि परियारकै जस्तो टीठलाग्दो देखियो। यसले इटहरीमा उनीहरुको नयाँ वैकल्पिक शक्ति बन्ने उद्घोषलाई इटहरीबासीले नरुचाएको संकेत प्रस्टै देखिएको छ। 
साझा पार्टीले इटहरीमा तथा विवकेशील दलले झापाका केही स्थानीय तहमा र नयाँ शक्तिले सकेसम्मका धेरै स्थानीय तहमा दिएका उम्मेद्वारी उम्मेद्वारले अनुभव आर्जन गर्ने र पार्टीले हैसियत थाहा पाउने मेलोमात्रै साबित भयो। 

पहिलो चरणको चुनावी नतिजामा कांग्रेस, एमाले र माओवादी नै जितेर आएको मनोवैज्ञानिक प्रभावले होस् वा स्थानीय उम्मेद्वारहरुको प्रभावशाली व्यक्तित्व र प्रोफाइल नभएका वा उनीहरुका चुनावी एजेण्डा जनमुखी हुन नसकेका जे सुकै कारणले होस नयाँ दलहरुको मोफसल परीक्षामा फेल नै भए। काठमाडौं वा ललितपुर महानगरपालिकामा जस्तो ठूला दलको हारजीतमा पनि यी दलहरुले कुनै प्रभाव पारेनन्। 

रन्जुको मोफसल यात्राः हावामै उड्यो

विवेकशील दलको तर्फबाट काठमाडौंमा मेयरकी प्रत्यासी बनेर तेस्रो स्थानको मत हासिल गरेसँगै मोफसलमा विवेकशील दलका स्थानीय उम्मेद्वारहरुलाई भोट माग्न मोफसलका जिल्ला घुमेकी रन्जु न्यौपानेको चुनावी यात्रा पनि गाउँ शहर घुम्नेमै सीमित भयो। 

काठमाडौंमा पनि विवेकशीलका वडाध्यक्षका उम्मेद्वारले उल्लेखनीय मत नल्याउँदा पनि रन्जुले पाएको तेस्रो स्थानको मत उनको व्यक्तिगत प्रभावको परिणाम भएको पुष्टि भए जस्तै विवेकशीलको मोफसल चुनावी प्रतिस्पर्धा पनि दलीय हिसाबले मतदाताद्वरा अस्वीकृत भएको छ। विवकेशीलको राजनीतिक विवेकमा धेरै गर्न बाँकी नै रहेको जनाउ स्थानीय मतदाताले उक्त दिएका छन्। 

नयाँ शक्तिले हालसम्म जितेका वडा

यशोधरा गाउँपालिकाको वडा नं. ५ 
कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नं. ५ मा नयाँ शक्ति पार्टी, नेपालको प्यानलनै विजयी भएको छ। उक्त वडामा नयाँ शक्तिका लइस पठान नेतृत्वको पूरै प्यानल विजयी विजयी हुँदा सदस्यहरुमा अजय कुमार मिश्र,  मुनिश्वर यादव, बिना नाउ र सावित्री रैदास नयाँ जनप्रतिनिधि चुनिए। 

धनकुटा नगरपालिका वडा नम्बर ३  
धनकुटा नगरपालिका ३ को वडा अध्यक्ष पदमा नयाँ शक्तिका उम्मेद्वार विकास घिमिरे विजयी भए। राष्ट्रिय युवा अभियानका केन्द्रीय सदस्य रहेका घिमिरे जिल्लाकै एकलो नयाँ शक्तिका जनप्रतिनिधि हुन्। 

रामग्राम नगरपालिका वडा नं. ४ मा मिलिजुली जीत 
नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ मा नयाँ शक्तिलाई मिलिजुल जीत हात लाग्यो त्यो पनि वडामा। त्यहाँ तीन पार्टीको संयुक्त गठबन्धन विजयी भएको छ। नयाँ शक्ति, फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले त्यहाँ गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए। उक्त वडामा मदन यादव नेतृत्वको पूरै प्यानलले विजयी बनेको हो। यादव लोकतान्त्रिक फोरमबाट उम्मेदवार थिए भने सदस्यहरुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारहरु विजयी भएका हुन्। 

नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ मिलिजुली जीत 
बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ मा नयाँ शक्ति र संघीय समाजवादी फोरम गठबन्धनका उम्मेदवार विजयी भए। वडा नं. १ मा संघीय समाजवादी फोरमबाट अध्यक्ष मोल्हे बेहना शेषसहित प्यानल नै गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन्। यसैगरी वडा नं. २ मा फोरमका मसूद अहमद साहसहित गठबन्धनबाट पूरै प्यानल विजयी भएको हो।

मायादेवी गाउँपालिका वडा नं. १ 
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ मा नयाँ शक्तिका उम्मेदवार हरगोविन्द चौधरी आफ्नो सम्पूर्ण प्यानलसहित विजयी भए। कपिलवस्तुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो। मायादेवी गाउँपालिकाको वडा नं. १ मा नयाँ शक्तिको सिंगो प्यानल नै विजयी भएको हो।

मिक्काखोला गाउँपालिका वडा नं. ५ 
ताप्लेजुङको मिक्काखोला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा नयाँ शक्तिका नेता डण्डु शेर्पा विजयी भए। विजयी शेर्पा नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियान नेपालका केन्द्रीय सदस्य हुन्। 

शुद्धोधन गाउँपालिका वडा नं. १ 
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी गठबन्धनले रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका वडा नं. १ बाट विजयी भयो। शुद्धोधन गाउँपालिका वडा नं. १ मा दुई दलको संयुक्त गठनबन्धनको तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल)सहितको संयुक्त प्यानल विजयी भएको छ। विजयी हुनेहरुमा बाबुराम पालसहित गाउरा लोनिया, सुशीला कुमारी चमार, सन्तराम लोनिया र बालकृष्ण मल्लाह रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell