काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आइतबार निर्देशन दिदैं प्रधानमन्त्रीले नीति नियमको कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले नीति तथा कानुनको निर्माण राजनीतिले गर्ने र स्थायी सरकारका रुपमा रहेका कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्ने उल्लेख गर्दै ऐन नियमको कार्यान्वयन एवम् विकास प्रशासनमा अनुगमनको पाटो फितलो भएकाले त्यसलाई प्रभावकारी बनाउन पनि कर्मचारीलाई निर्देशन दिए।
राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले प्रत्येक १५ दिनमा सचिवहरुसँग विकास खर्च बारे प्रतिवेदन लिएर आफूसमक्ष जानकारी गराउन मुख्य सचिव डा सोमलाल सुवेदीलाई निर्देशन दिए।
प्रधानमन्त्री देउवाले अन्तरमन्त्रालयसँग समन्वय गर्दै सुशासन कायम गर्न र कर्मचारीलाई उच्च मनोबलका साथ काम गरेर सरकारलाई सफल पार्न पनि निर्देशन दिए।
सो अवसरमा सरकारका मुख्य सचिव डा सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बारेमा सम्पूर्ण शाखा एवम् कार्यालयअन्तर्गतका निकायकाबारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।
यसैगरी प्रधानमन्त्री देउवाले वाग्मती पेट्रोलियम डिलर्स एसोसियसनको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थ बिक्रीवितरण सम्बन्धमा देखिएका समस्या समाधान गर्न आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिए।
उनले सरकार संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैको सहयोगको अपेक्षा गरे। एसोसियसन पदाधिकारीले पेट्रोलियम पदार्थ बिक्रीवितरण सम्बन्धमा देखिएका समस्या समाधान गर्न भन्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो। रासस