PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

बाढीले पोखरा महानगरका केही बस्ती जोखिममा



रासस

बाढीले पोखरा महानगरका केही बस्ती जोखिममा

पोखराः शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण फुस्रे खोलामा आएको बाढीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ र २१ लाई जोडने दोविल्लाको पक्की पुल र सो क्षेत्रको वस्ती जोखिममा परेको छ। 

खोलाको बढ्दो कटानसँगै घर जोखिममा परेपछि स्थानीय धरमबहादुर क्षेत्री विस्थापित भएको छ भने भूपेन्द्र गिरी, कमलनारायण गिरी, सरस्वती छन्त्याल र प्रताप रानाका घर उच्च जोखिममा परेका छन्। 

खोलाले पूर्वपट्टिको भागलाई कटान गरी सडकसमेत भत्काउँदा खोलाको पश्चिमस्थित भरतपोखरीका बागमारा, मनियलडाँडा, बर पाण्डेथुम, निर्मलपोखरीस्थित फोक्सिङ, शिवालयलगायत स्थानमा जाने सार्वजनिक यातायात सेवा बन्द हुँदा उक्त क्षेत्रका स्थानीय प्रभावित भएका छन्। 

बाढीले ओशो ध्यान केन्द्र, सहारा एकेडेमी जस्ता संस्थाका साथै उक्त क्षेत्रका २५ घर जोखिममा रहेको दोविल्ला टोल विकास संस्थाका अध्यक्ष गौतम गिरीले जानकारी दिए। कटानका कारण उक्त क्षेत्रमा दुईवटा विद्युत्को पोल भाँचिएका छन् भने थप घटना नहोस् भन्ने हेतुले सुरक्षाकर्मी परिचालन गरिएको छ। 

गत वर्ष पनि खोलाले कटान गरे पछि सरकारले संरक्षणका लागि एक करोड ८५ लाखको लागतमा कटान नियन्त्रणको प्रयास गरे पनि समयमा काम हुन नसक्दा झन् समस्या थपिएको हो। 

कटान नियन्त्रणका लागि लगातार दुई पटकसम्म बोलपत्र आह्वान गरिए पनि कसैले निवेदन नदिएको र तेस्रो पटक मात्र बोलपत्र आह्वानको निवेदन परेका कारण काममा ढिलाई भएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर शङ्कर पौडेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell