PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

पर्वतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु



रासस

पर्वतमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

पर्वत : पर्वतको महाशीला गाउँपालिका–१ मा आइतबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

साबिकको होस्राङ्दी गाविस–१ बारकुनाका ६३ वर्षीय तीर्थबहादुर मल्ल ठकुरीको घर पहिरोले बगाएको हो। घर बगाउँदा ठकुरीसहित उनकी ८० वर्षीया आमा बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारीको ज्यान गएको हो। 

गाउँमा जाने कच्ची सडक निर्माणका कारण माथिबाट आएको ठूलो भेलसँगै भिरालो खेतबाट पहिरो जाँदा बस्तीमा पसेको हो। धेरै ठाउँको भेल सडक हुँदै घरभन्दा माथिको खेतमा पसेपछि पहिरो गएको महाशिला–१ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए। 

घटनास्थलमै मृत्यु भएका तीनैजनाको शव परीक्षणका लागि स्याङ्जाको वालिङ लगिएको छ । मृतक तीर्थबहादुरका छोरा राजेश मल्ल ठकुरी भारतीय सेनामा कार्यरत छन् भने बुहारी बुटबलमा बस्दै आएकी छिन्। 

पहिरोले ठकुरीको घर र गोठसमेत पुरेको छ। पहिरोका कारण ठकुरीका झण्डै एक दर्जन पशुचौपायासमेत मरेका छन्। 

पहिरोले स्थानीय चन्द्रबहादुर राना, चन्द्रकुमार रानालगायतका पाँच घर जोखिममा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सार्न प्रयास भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थानमा विगत केही दिनयता विद्युत् सेवासमेत अवरुद्ध बनेका कारण सिधा सम्पर्कमा समेत कठिनाई उत्पन्न भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell