डोटी: दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ। सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो। ९ नं वडाको मतगणना रोकिएको छ। ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए।
सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्काले तीन हजार ८५७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा प्रोसिस महरालाई तीन हजार ७८३ मत प्राप्त छ।
नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गरेकी छन्। उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन्। रासस