विराटनगर : शनिबार साँझदेखि अवरूद्ध धनपालथान गाउँपालिकाको मतगणना अझै सुरु गरिएको छैन।
एक सय एक थान मतपत्रको परिणाम ‘भुलवश’ एमालेको खातामा जोडिएपछि शनिबार साँझदेखि मोरङको धनपालथान गाउँपालिकामा मतगणना रोकिएको हो।
मतगणना कसरी खुलाउने भनेर निर्वाचन अधिकृत टोलराज उपाध्याय सम्बन्धित गाउँपालिकामा सर्वदलीय बैठक राख्ने तयारी गरिरहेका छन्।
समस्या समाधानका लागि अधिकृत उपाध्याय आइतबार विराटनगर आएका थिए। विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेल र मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले गाउँपालिकामै सर्वदलीय बैठकबाट समस्या समाधान गर्न निर्देशन दिएपछि अधिकृत उपाध्याय धनपालथान फर्किएका छन्।
अधिकृत उपाध्यायका अनुसार वडा नम्बर २ को १ सय १ थान मतपत्रमा यस्तो समस्या आएको हो। वडामा २ हजार ९ सय मतदान भएको छ।
‘हामीले वडा नं. २ का मत ३३ लटमा गणना गरेका हौँ’, टोलराजले भने, ‘यसमध्ये १ लटको मतपरिणामलाई कम्प्युटरका साथीले भुलवश एमालेको खातामा जोड्नु भएछ। यसमा १ सय १ मतपत्र थिए। पछि अन्तिम मुचुल्का बनाउने बेलामा हिसाब नमिलेपछि क्रस चेक गर्दा यस्तो पत्तालागेको हो।’
‘हामीले मतपरिणामको घोषणा गरेका छैनौँ’, अधिकृत उपाध्यायको भनाइ थियो, ‘कम्प्युटरका साथीले पनि आफ्नो भूल स्वीकार सक्निुभएको छ। मुचुल्का सच्याउने काम भइसेको छ। तर अन्य राजनीतिक दलका साथीहरूले मतगणनालाई निरन्तरता दिन मान्नुभएन।’