PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

मतदाताको धक्कामा दलका हेभी वेट



सूर्य खड्का

मतदाताको धक्कामा दलका हेभी वेट
फाइल फोटो

काठमाडौं : स्थानीय तहको दोस्रो चरणको चुनावको मत परिणाम समाप्तीउन्मुख हुँदैगर्दा सबैजसो दलका हेभीवेट नेताहरुले आफ्नै गृहनगर र जिल्लामा भने नराम्रो धक्का बेहोरेका छन्। यसरी धक्का खानेमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका महामन्त्री सुनिलबहादुर थापा, राप्रपाकै वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द लगायत छन्। यता माओवादीका केन्द्रीय नेताहरु वर्षमान पुन र कृष्णबहादुर महराले पनि गृह जिल्लालाई माओवादी किल्ला बनाउन चुकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढीमा एमालेले जितेर सरकार प्रमुख देउवालाई नै गृह जिल्लामा दिएको धक्का अरु जिल्लामा झन् रोचक र पेचिलो देखिएको छ।

२ गापामा सीमित जनमोर्चा 

स्थानीय तहको दोस्रो चरणको चुनावी मतपरिणाम आउने क्रम आइतवारसम्म मध्यन्तरमा पुग्दा संघीयता विरोधी दलका रुपमा चिनिएको राष्ट्रिय जनमोर्चाले जम्मा २ स्थानीय निकायमा मात्रै विजय हासिल गरेको छ। प्यूठानका झिम्रुक र मल्लारानी गाउँपालिकामा जनमोर्चाले जितेको छ। पहिलो र दोस्रो दुई चरणका स्थानीय चुनावमा भिडेको जनमोर्चाका लागि यी दुई विजय नै संभवतः पहिलो र अन्तिम स्थानीय तह हुन सक्छन्।  

सर्वसाधारण बीच लोकप्रिय तथा संघीयता विरोधी नेताका रुपमा चर्चित जनमोर्चाका सदावहार अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला प्यूठानको सुरुवाती चुनावी नतिजाले जनमोर्चाको गिलास चिन्ह पनि जनताको मतले भरिएको संकेत देखाएको छ। दोश्रो चरणको निर्वाचन अन्तर्गत ५ नं. प्रदेशको पहाडी जिल्ला प्यूठानमा मत गणनाको नतिजा आउने क्रममा जनमोर्चालाई शुभसंकेत मिले पनि अब यसले निरन्तरता पाउने संभावना लगभग सकिँदै गएको छ। 

२ नगरपालिका सहित ९ स्थानीय तह रहेको प्यूठानमा ६४ वटा वडा रहेको प्यूठान नेता केसीको मुख्य प्रभाव क्षेत्र पनि हो। राष्ट्रिय जनमोर्चाको जिल्लामा एकल वर्चस्व नरहेकै प्रमाण हो कि उसले जिल्लाभरमा जम्मा २ गाउँपालिकामा मात्रै विजय हासिल गरयो। केन्द्रीय तहको राजनीतिमा बोल्ड उपस्थिति कायम राख्न सफल पार्टी अध्यक्ष चित्र बहादुर केसी जिल्लामा पार्टीको एकल बर्चश्व कायम गर्न विफल भएको चुनावी मतपरिणामले देखाएको छ।

सूर्यबहादुर थापाको गढमा छोरा सुनिलको हार

धनकुटा जिल्लामा २०७० सालको चुनावमा एउटा क्षेत्र एमालेले र अर्को राप्रपाले जितेको ताजा आलोकमा पनि राप्रपले धनकुटामा स्थानीय चुनावमा राम्रो परिणाम ल्याउने र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गृह जिल्लाको साख जोगाउने आँकलन गरिएको थियो। तर, त्यो सम्भव देखिएन। जिल्लाका दुई नगरपालिका सहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा एकल वर्चश्व कायम गरिरहँदा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा हाल राप्रपाका महामन्त्री सुनिल बहादुर थापालाई गम्भीर राजनीतिक धक्का आफ्नै क्षेत्रका मतदाताबाट मिलेको छ। 

राप्रपा महामन्त्री तथा प्रत्यक्षतर्फ निर्वाचित सांसद सुनिल थापाका लागि राजनीतिक परीक्षणको कडी बनेको असार १४ को चुनाव आफ्नो साख गिर्दै गएको तीतो तथ्य साबित भएको छ। थापाले केही वडामा बाहेक पार्टीलाई जिताउन मात्रै होइन, मुख्य प्रतिस्पर्धीका रुपमा पनि उभ्याउन नसकेको चुनावी परिणामले देखाएको छ। देशैभरबाट राप्रपाले उल्लेखनीय जित हासिल नगरेका बेला सुनिलबहादुर पार्टीकै लागि आशाका किरण थिए तर उनी चुनावी रेसमा घरेलु मैदानमा नै हारेर पार्टीको हारको श्रृंखलाका नयाँ पात्र बनेका छन्।

एमालेले सातै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित जिल्लाका ६० मध्ये ४२ वडा जितेर सुनिलबहादुर थापालाई नै बढी धक्का दिएको छ। 
धनकुटामा माओवादी र संघीय समाजवादी फोरमका अवस्था धेरै कमजोर भएको देखिएको छ। नयाँ शक्तिले धनकुटा नगरपालिकामा एउटा वडा जितेर आफ्नो उपस्थिति देखाएको छ। संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङका लागि पनि गृह जिल्लाका मतदाताले उनको फरक राजनीतिक यात्रालाई स्वीकृत गरेको देखिएन।

बैतडीमा बढारिएका लोकेन्द्रबहादुर चन्द

नेपाली साहित्यमा १२ औं खेलाडीका श्रष्टा तथा भद्र र शालिन राजनीतिज्ञ लोकेन्द्रबहादुर चन्दले आफ्नो गृह जिल्ला बैतडीमा राप्रपालाई कुनै पनि गाउँपालिकामा विजयी गराउन सकेनन्। एक वडामा बाहेक राप्रपा कतै जितेन। बैतडीका दशवटै तहको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस ३ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा जितेको छ भने एमालेले ३ गाउँपालिकामा जित हात पारेको छ। माओवादी केन्द्र १ नगरपालिकामा विजयी भएको छ। तर चन्द वरिष्ठ नेता भएको राप्रपा सबैतिर नील भएको छ। प्रतिस्पर्धी बन्न पनि राप्रपा सशक्त देखिएन। राप्रपाका यी संस्थापक नेता चन्दले स्थानीय जनताको मतसँग पार्टीलाई विजयी गराउन नसक्नुले उनको राजनीतिक उचाई अनुसार स्थानीय प्रभाव सकिँदै गएको संकेत गर्दछ।

वर्षमान, ओनसरी, नन्दबहादुर र कृष्णबहादुरलाई नपत्याएको रोल्पा

सरकारका उप प्रधानमन्त्री तथा विदेश मन्त्री कृष्णबहादुर महरा, सभामुख ओनसरी घर्ती, माओवादीका शक्तिशाली नेता वर्षमान पुन हुन् वा उपराष्ट्रपति नन्दबहादुर पुनका लागि रोल्पामा स्थानीय चुनावमा पार्टीले एकल विजय हासिल गर्नुपर्ने चुनौती थियो। तर, एक से एक हेभिवेट नेताहरुको गढ जिल्ला रोल्पामा माओवादी मुस्किलले मात्रै पहिलो दल बन्न सक्यो। २०५२ देखि २०६२ सम्मको  माओवादी जनयुद्धको उद्गमथलो रोल्पाले असार १४ को स्थानीय तह चुनावमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीदेखि कृष्णबहादुर महरा, वर्षमान पुन लगायत माओवादीका एक से एक हेभीवेट नेताहरु गृह जिल्ला रोल्पामा डेरा जमाएर एकल जितका लागि होमिएका थिए। 

तर, हात पर्यो केवल मिश्रित चुनावी परिणाम। केन्द्रमा रमाएका नेताले स्थानीय जनभावनाको कदर गर्न नसकेकै कारण माओवादी किल्ला भत्किएकोले यसको असर माओवादीमा को नेता कति बलियो भन्ने हिसाब निकालेर पार्टीको नेतृत्वमा दाबी गर्नेका लागि निकै ठूलो धक्का हुनेछ। 

रोल्पाका १० स्थानीय तहमध्ये एमालेले २ स्थानीय तह जितेर माओवादीको आधार इलाकामा आफ्नो प्रभावशाली विकल्प प्रस्तुत गरेको छ भने कांग्रेसले एक गाउँपालिका जितेर आफनो प्रभावको सुरुवात गरेको छ। जनयुद्धको किल्लामा माओवादी ७ स्थानीय तहको जीतमा खुम्चिएको छ। एमाले र कांग्रेसको जितले रोल्पामा माओवादीको एकाधिकार तोडिएको मात्रै छैन२०४८ मा तत्कालीन जनमोर्चाले त्यहाँ चुनाव जिते यताका सबै जितको एकाधिकारमा पनि ब्रेक लगाएको छ। 

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ र २०७० दुवै संविधानसभा चुनाव जितेको माओवादीले स्थानीय तहको पहिलो चुनावमा नै व्यहोरेको हार पार्टी भन्दा पनि हेभीवेट नेताहरुका लागि लज्जा र चुनौती बराबरजसो हो। वर्षमान पुन र महरा सक्रिय पार्टी राजनीतिमा रहेका कारण पनि उनीहरुले यो पराजयले पार्टीको आन्तरिक राजनीतिक समिकरणमा पनि असर पुर्याउने छ। 

पक्कै पनि चुनाव हारेका स्थानीय पार्टी उम्मेद्वारले हुन, हेभीवेट नेताहरुले होइनन्। तर पनि जस अपजसको भागिदार हेभीवेट नेताहरु नै किन हुन् भने त्यो उनीहरुलाई स्थानीय तहदेखि सिंहदरबार र पार्टीको वर्तमान उपल्लो हैसियतसम्म पुर्याउने कर्म थलो हो। स्थानीय चुनाव भन्नुको अर्थ स्थानीय मतदाताको विवेकको मतमा शीर्ष नेताहरुको परीक्षण पनि हो। त्यो परीक्षणमा कोही जितेर पनि हारे भने कोही हारेर पनि जितेका छन्। स्थानीय तहलाई बिर्सँदा आउने चुनावी परिणामको सबक पनि हो यो सबै दलका नेताहरुलाई।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell