
काठमाडौंः माहुली बाँध फुटेर सप्तरीको तिलाठीमा भएको डुवानको विषय संसदमा प्रवेश गरेको छ। संसद्को आजको बैठकमा प्रमुख दलका सांसद्हरुले विशेष चासोको विषयको रुपमा उठाएका छन्।
सांसद्हरुले तिलाठीको समस्या तात्कालिक नभएर यसलाई तात्कालिन र दीर्घकालिन दुवै रुपमा समाधान खोज्नुपर्ने बताएका हुन्।
संसद बैठक सुरु हुनासाथ समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद सुरेन्द्रप्रसाद यादवले महुली बाँध फुटेर तिलाठीमा डुबान भएको भन्दै तत्कालीन र दीर्घकालीन समास्या समाधान गर्न माग गरे।
‘सप्तरीको तिलाठीका जनता डुबानको समस्याले पीडित बनिरहेका छन्। त्यसलाई तत्कालीक र दीर्घकालीन समाधान गर्न योजना ल्याइनु पर्छ।’
यादवले भने,‘कोसी नदीको पानीले सप्तरीमा सधै दुःख दिने गरेको छ, डुबानको समस्या अन्त्यका लागि सरकारसँग माग गर्दछु।’ उनले सप्तरीमा मात्र नभएर कास्की लगायतका अन्य क्षेत्रमा पनि विभिन्न प्राकृतिक प्रकोप भइरहेको भन्दै स्थायी समाधानका लागि योजना आवश्यक हुने बताए।
एमाले सांसद रविन्द्र अधिकारीले सप्तरीको तिलाठीमा बाढीका कारण डुबान भएको भन्दै राहतलाई भन्दा पनि नयाँ बाँध निर्माणलाई प्राथमिकमा राख्न सरकारसँग माग गरे।
‘सीमा क्षेत्रमा भारतले ५ देखि १० मिटरसम्मको सडक माथि उठाएकाले तिलाठीमा डुबान भएको हो’, अधिकारीले भने,‘राहतमा मात्रै होइन दीर्घकालीन समाधान खोजिनु पर्छ।’
माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले सप्तरीको तिलाठीमा तत्कालका लागि राहत आवस्ययक हुने भन्दै कास्कीकासहितका विभिन्न क्षेत्रको प्राकृतिक प्रकोपको जोखिमलाई तात्कालिन र दीर्घकालीन समस्या समाधानमा लाग्नुपर्ने बताए।
एमाले सांसद् अधिकारीले कास्की जिल्लाका विभिन्न स्थानहरूमा वर्षाका कारण बाढीपहिलो गएको भन्दै उद्धार र रहतका लागि सहयोग गर्न माग गरे। अधिकारीले भने, ‘मानवनिर्मित समस्याले प्राकृतिक जोखिम बढेको छ। ती समस्यालाई समाधान गर्न माग गर्छु।’
कास्कीका मानवबस्तीहरू विगत वर्षहरुदेखि नै जोखिममा रहेको भन्दै सरकारसँग योजनाबद्ध रुपमा कार्यक्रम बनाउन माग अधिकारीले गरे।
कांग्रेस सांसद बिन्दादेवी आलेले पोखरामा वर्षाका कारण सडक अबरुद्ध हुनुका साथै बस्तीहरू जोखिममा परेको बताइन्। आलेले सेती नदीको छेउमा जमिन भासिएको भन्दै उपयुक्त व्यवस्थापन आवश्यक भएको बताइन्।
सांसद आलेले भनिन्, ‘जोखिममा बसेका बस्तीलाई सुरक्षित स्थानमा लैजाने, भत्किएको पुल मर्मत, भूसंरक्षणको लागि आपतकालीन व्यवस्था गर्न माग गर्छु।’ आलेले सप्तरीको तिलाठीमा भएको डुबानका पीडितलाई राहत र उद्धारका लागि समेत माग गरिन्।