
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो चरणको स्थानीय तह निर्वाचनको ५ दिन अगाडि नै गृहजिल्ला डडेल्धुरा पुगे। देशकै प्रधानमन्त्री रहेका देउवा यसरी गृह जिल्ला पुग्नुको एक मात्र कारण थियो आफ्नो क्षेत्रका स्थानीय तहकमा कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनु।
पाँच दिन गृह जिल्लाको चुनावी प्रचारमा होमिएका सभापति देउवाको जिल्ला बसाइ खासै सार्थक भएन। दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डेडेल्धुरामा एक नगरपालिकामा कांग्रेसले विजयी हासिल गरे पनि एक नगरपालिकामा नेकपा एमालेलाई सुम्पिनु पर्यो।
कांग्रेस सभापतिको गृह जिल्लाको पनि कांग्रेसको अखडा मानिने अमरगढी नगरपालिकामा एमालेको झन्डा गाड्न सफल भए मेयर उम्मेद्वार विशेश्वर ओझा (विपिन)। उनले कांग्रेसका उम्मेद्वार डिल्लीराज जोशीलाई १ सय २८ मत अन्तरले हराए। सभापति शेरबहादुर देउवा केही दिन अगाडि डेडल्धुरा आएर नबसेको भए धेरै मत अन्तरले हराउने ओझा दावी गर्छन्। पहिलोपोस्टसँगको कुराकारीमा नवनिर्वाचित मेयर ओझाले भने, '१० गतेदेखि नै कांग्रेस सभापति आएर बस्दा एक महिनादेखि मेरै प्रचारप्रसारमा हातेमालो गर्ने साथीहरु छोडेर गए।'
त्यसो त देउवा डेडेल्धुरा बस्दा दिनराता मत माग्दै हिँडेपछि आफ्नो धेरै मत प्रभावित भएको उनले बताए। उनले थपे, 'कति कार्यकर्ताहरु तटस्थ समेत रहे।'
नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा खेलेको नकारात्मक भूमिकाले नै चुनाव हारेको दावी गर्छन् उनी। ओझा डडेल्धुरा शिक्षा क्याम्पसको स्ववियु सभापति समेत बनिसकेका व्यक्ति हुन्। २०६२ र २०६५ मा लगातार नेविसंघले जित हासिल गरेको क्याम्पसमा उनले अनेरास्वियुबाट जित हासिल गरेका थिए। 'स्ववियु निर्वाचनमा कांग्रेसको वर्चस्व मैले नै तोडेको थिएँ त्यसैले पनि कांग्रेसलाई हराउन सक्छु भन्ने हिम्मत थियो,' उनले सुनाए।
साहित्य लेखनमा समेत रुचि राख्ने विपिन नगरपालिका शिक्षा, स्वास्थ्य र सडक सुधार गर्ने पहिलो प्राथमिकता रहको बताउँछन्।