PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

पथरीशनिश्चरे नगरपालिकामा मतगणना अवरूद्ध, प्रहरी र प्रदर्शनकारीबीच झडप 



पहिलोपोस्ट

पथरीशनिश्चरे नगरपालिकामा मतगणना अवरूद्ध, प्रहरी र प्रदर्शनकारीबीच झडप 

विराटनगरः पथरीशनिश्चरे नगरपालिकामा आइतबार साँझदेखि मतगणना अवरूद्ध छ भने एमालेबाहेकका दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

सोमबार मध्याह्न प्रहरी र प्रदर्शनकारीबीच झडप भएको स्थानीय पत्रकार गोपाल काफ्लेले जानकारी दिए।

झडपपछि प्रहरीले सुरक्षालाई थप कडा बनाएको छ। यसपछि नेपाली काङ्ग्रेका कार्यकर्ता मतगणनास्थल पथरी बहुमुखी क्याम्पसको गेटमा धर्ना बसेका छन्। 

निर्वाचन अधिकृत र सरकारकातर्फबाट खटिएका गणकले मतगणनामा एमालेका पक्षमा धाँधली गरेको भन्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलगायतका दलले मतगणना अवरूद्ध पारेका हुन् । 

नगरपालिकामा वडा नं. ९ मा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार वीरबहादुर लिम्बूले निर्वाचन अधिकृत तेजकुमार पोखरेल र गणक रोहिणीकुमार घिमिरेले धाँधली गरेर आफूलाई हराएको बताए।

‘रुखमा लगाइएको छापलाई पनि सरकारी गणकले सूर्य भन्थे’, उम्मेदवार लिम्बूले भने, ‘सूर्यमा बदर भएका मतलाई पनि सदर भएको भनेर सूर्य भन्दै कराउँथे। हामीले आठ÷दश पटक यस्तो गरेको थाहा पायौँ र सच्याउन लगायौँ । तर कति गर्दा पनि उनी सच्चिएनन्।’

वीरबहादुरका अनुसार अधिकृत पोखरेल र गणक आचार्यले एमालेसित मिलेर जबर्जस्ती मुचुल्का बनाएर एमालेका उम्मेदवार भानुभक्त राईलाई विजयी भएको घोषणा गरे। यसैको विरोध एमालेबाहेकका दलले गरेका हुन् ।

एमालेका भानुभक्तको ७ सय ७४ र कांग्रेसका वीरबहादुरको ७ सय ६६ मत भएको घोषणा पथरीशनिश्चरेमा गरिएको छ।

‘वडा नं. ४ मा पनि यस्तै गरियो’, राईको आक्रोश थियो, ‘पहिले सुनियोजित ढङ्गले एमालेका वडाध्यक्षका उम्मेदवार डिकबहादुर बस्नेत विजयी भएको घोषणा गरियो । केही समयपछि यो धाँधली भयो भनेर माओवादी केन्द्रका कार्यकर्ताले आवाज उठाएपछि पुनः माओवादीका गोविन्दबहादुर भण्डारी निर्वाचित भएको घोषणा गरियो।’

‘गणनामा खटिएका सरकारी कर्मचारीको व्यवहार राम्रो छैन’, नेपाली काङ्ग्रेसका एक प्रतिनिधिले भने, ‘हामीले व्यवस्थापन राम्रो पारेर गणना गरौँ भनेर पटकपटक भन्यौँ। तर उहाँहरू यस्तो झन्झटिलो काम तपाईंहरू नै आएर गर्नुस्, यत्रो दिन भइसक्यो हामीलाई झर्को नलगाउनूस् भन्ने उत्तर फर्काउनु हुन्छ ।’
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell