
काठमाडौं: फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका बिकासका लागि एक दिने अभियान संचालन गर्ने भएको छ। फिल्म युनिटले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्ने भएको हो।
सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफसँगको सहकार्यमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ। अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ।
एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा फिल्मको स्क्रिनिङ र स्क्रिनिङपछि फिल्मका कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ। साथै, कार्यक्रममा कण्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङका साथै टिकटमा विशेष उपहारहरूको व्यवस्था समेत गरिएको छ। यसका लागि ओम हस्पिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले सघाउने छन्।
वास्तविक जीवनकथामा आधारित फिल्म सिग्नेचरले एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्छ।
सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन्। फिल्ममा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ