
- नरहरि पौड्याल
गत वर्ष पनि बाढी पहिरोले कास्कीमा धनजनको ठूलो क्षति भएको थियो। कास्कीको लुम्लेमा गएको पहिरोले बस्ती बगाउँदा एकैपटक २६ जनाको मृत्यु भएको थियो।
त्यसैगरी गतवर्ष पामे ठूलाखेतमा पनि ठूलो बाढी, पहिरोले आर्थिक र मानवीय क्षति भएको थियो। पोखराको सिद्धार्थचोकमा बजार क्षेत्रमा नै आएको बाढीले बगाउँदा तीनको मृत्यु भएको थियो।
दुई वर्षअघि उनीहरुले भनेजस्तै विपत्ती आइपरेको थियो। चैतको सुख्खायाममै अन्नपूर्ण हिमतालको चट्टान फुटेर आएको बाढीले खारापानीको बजारसहित सेती नदी किनाराका बस्ती नै बगाएको थियो। दिउँसोको समयमा अकस्मात आएको बढीका कारण दर्जनौ सर्वसाधारणको मृत्यु भएको थियो।
पोखरा र वरिपरिका क्षेत्रमा वर्षैपिच्छे बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण भौतिक सम्पत्तिसँगै पोखरा आसपासमा नै २४ घण्टाको समयमानै ठूलो जनधनको क्षति हुनपुगेको छ।

दुई जनाको घरमै पहिरोले पुरेर मृत्यु भएको छ भने केही बेपत्ता छन्। केही बस्तीहरु डुवानमा परेर जलमग्न छन्। केही घरहरुमा बस्न नमिल्नेगरी क्षति पुगेको छ।
पोखरामा विगत २४ घण्टाको अबधिमा सबैभन्दा बढी वर्षा भएको छ। मुलुकभरको तुलनामा पोखरामा विगत २४ घण्टाको अवधिमा सबैभन्दा बढी १९१ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान पौने ९ बजेसम्मको मापनमा पोखरामा सबैभन्दा बढी वर्षा भएको हो ।
पहिरोमा पुरिएर २ को मृत्यु, एक बेपत्ता
अविरल वर्षाका कारण पोखरामा दुई जनाको मृत्यु भएको छ। एक जना खोलाले बगाउँदा बेपत्ता भएकी छन्। राति आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्र्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुरिँदा पाहुना आएका अधिकारीको सालीका छोरा १४ वर्षीय टंक क्षेत्रीको मृत्यु भएको हो।
राति करीब साढे २ बजेतिर आएको पहिरोले घर पुरिँदा घाइते भएका उनलाई प्रहरीले उद्धार गरेर फिष्टेल अस्पताल पुर्याएको थियो। क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो। पहिरोमा परी अधिकारीकी श्रीमती घाइते भएकी छन्।
त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ अकलामा पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा ४० वर्षीया शोभा पौडेलको मृत्यु भएको छ। त्यसैगरी, शनिवार बेलुका फुसेखोला तर्ने क्रममा एक महिलालाई बगाएको छ।
छोरेपाटनको बस्ती डुवानसँगै भ्वाङ
छोरेपाटनको शीतल चौतारी वरिपरिको क्षेत्र जलमग्न भएको छ। अविरल परेको वर्षासँगै दामोदर खोलामा आएको बाढीले सो क्षेत्र डुवानमा परेको हो। शीतल चौतारी नजिक प्रशासन, नगरपालिका र जग्गा व्यवसायीको मिलेमतोमा दामोदर खोला बग्ने मार्गलाई थुनेर जग्गा प्लटिङ गरिएपछि त्यस क्षेत्र वर्षेनी जलमग्न हुने गरेको छ।
पानीको बहाव बढेपछि दामोदर कुनाका दर्जनौ घर डुवानमा परेका छन्। जथाभावी प्लटिङले तीन वर्षलेखि डुवानमा पर्दै आएको सो क्षेत्रमा पानीको निकासका लागि हाल नहर खन्ने काम चलिरहेको छ। चारैतिर जलमग्न भएपछि शीतल चौतारी वरिपरीको जमिनसमेत भासिन थालेको छ।
त्यस क्षेत्रमा भासिएको जमिनको आकार बढ्दै गरेको छ। घरसँगैको जमिन भासिएपछि शनिवार डोजर लगाएर झण्डै ७ ट्रक माटो भरेर पुरिएको सो स्थान आइतबार दिउसो पुनः भासिएको छ।
जग्गाधनी चुुणामणि बोगटीले आइतवार माटो भरेर पुर्ने कोसिस गरे पनि लगातार सो क्षेत्र भासिंदै गएको बताए। भुगोलविद्हरुका अनुसार भासिएको जमिन न्यूनतम सुरक्षाको उपाय नअपनाई पुर्दा झन् जोखिम बढ्छ। भासिएको स्थानमा अध्ययनपछि मात्रै सुरक्षित रुपमा सो स्थानलाई पुर्नपर्ने उनीहरुको सुझाव छ ।
त्यसैगरी, अविरल वर्षाका कारण पोखराको सराङकोट जाने सडक भासिएको छ। सडक भासिँदा सराङकोट जाने आउने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
वर्षापछि पोखराका मुख्य बजार क्षेत्र नयाँ सडक, नदीपुर बगर, मालेपाटनलगायतका दर्जनौ स्थानमा जमिन भासिएर भ्वाङ परेका छन्।
लेकसाइडका होटल र रेष्टुरेण्टमा पहिरो पस्यो
लेकसाइडको खहरेमा माथिबाट खसेको पहिरोसँगै आएको भेलले गेष्टहाउस र रेष्टुरेन्टमा क्षति पुगेको छ। मुख्य पर्यटकीय स्थलको गेष्टहाउस तथा रेष्टुरेन्टमा राति एक्कासी पहिरो खसेपछि त्यहाँ रहेका मानिसहरु बाहिर खुल्ला स्थानमा पुगेका थिए।
पहिरोले मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ। खहरेस्थित आधा दर्जन गेष्ट हाउस तथा होटल र रेष्टुरेन्टमा क्षति पुगेको छ ।
सेती थुनिएर ताल
मुसलधारे वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि रामघाटमा ताल बनेको छ। नदीजन्य वस्तुको उत्खननका कारण वर्षेनी वर्षायाममा नदी थुनिने गरेको छ। नदी थुनिँदा रामघाटको शबदाह स्थललगायत आसपासको सुकुम्वासी बस्तीसमेत डुवानमा परेको छ।
त्यसैगरी वर्षाका कारण सेती नदी किनारका विभिन्न स्थानको जमिन भासिएको छ। पोखराको घारीपाटन, दोविल्लालगायतको क्षेत्रमा पहिरो खसेको छ। केही स्थानमा ठूलो जमिनका ढिस्का खसेर बीचमा अड्किएका छन्। ती ढिस्का खसेको अवस्थामा पुरै सेती नदी थुनिएर ठूलो क्षति हुने सम्भावना छ।
गुफा जोखिममा
माटेपानी गुम्बाको फेदीमा पहिरो गएको छ। जथाभावी सडक खन्न डोजर लगाएका कारण पहिरो खसेर गुम्बालाई नै जोखिममा पारेका हो। गुम्बा प्रवेशको मुल गेट पोखरा १२ माटेपानीस्थित चापापानी मार्ग सडक खन्ने क्रममा माथि जाने बाटोसमेत मर्मत गर्न खोज्दा पहिरो खसेको हो। स्थानीयका अनुसार शुक्रवार राति १० बजे पहिरो खसेको थियो ।
सेतीको डिल भासियो
वर्षापछि पहिरो जाने र भासिने क्रम बढेको छ। अति जोखिमयुक्त क्षेत्रकारुपमा रहेको सेती नदीको डिल धेरै स्थानमा भासिएको छ।
रीपाटनस्थित सेतीनदी डिलको ठूलो जमिन भाँसिदा वरपरका मानिस त्रसित बनेका छन्। भासिने क्रम बढे सेती नदी नै थुनिने खतरासमेत बढेको छ।
त्यस्तै, पोखरा १६ बाटुलेचौर, पोखराको विन्ध्यवासिनी, नदीपुर, न्यूरोड, मालेपाटन र पोखरा १७ छोरेपाटनलगायतका स्थानमा पनि बस्ती नजिकैको जमिन भासिएको छ।
पोखरा लेखनाथ १८ मेथ्लाङको डाँडाबाट खसेको पहिरोले १० भन्दा बढी घर जोखिममा छन्।
त्यस्तै, पोखरा १७ दोबिल्लामा रहेको दोबिल्ला पुल पनि बाढीको उच्च जोखिममा परेको छ। भरतपोखरी जोड्ने पुलमा राति आएको पहिरोले क्षति पुगेको छ भने बिजुलीको पोल ढालेको छ।
त्यस्तै, याम्दी खोला बढ्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ सिमपानीमा लालीमान थापाको घरमा क्षति पुगेको छ।