
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग टोलिफोनमा कुराकानी गरेका छन्।
टेलिफोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएका संचारमाध्यमले बताएका छन्।
गत अप्रिलमा चिनियाँ राष्ट्रपति सिले अमेरिकाको भ्रमण गरेका थिए। त्यस क्रममा भएको भेटमा उनीहरुबीच दुई देशबीचका कैयौँ असमझदारीहरु हटाउन सहयोग पुगेको बताइएको थियो ।
तर चिनियाँ राष्ट्रपति सिले भने यी दुई देशको सम्बन्धमा केही नकारात्मक कुराहरुले प्रभाव पारिरहेको धारणा राखेको उनलाई उद्धृतगर्दै सिसीटिभीले जनाएको छ।
चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने ताइवानका लागि अमेरिकाले करिब १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको हतियार बिक्रीगर्ने सम्बन्धी प्रस्तावमा स्वीकृति दिएका थिए।
त्यस विषयलाई पनि चिनियाँ राष्ट्रपतिले फोनमा उठाएका थिए। समाचारमा जनाइएअनुसार ताइवानलाई हतियार बेच्ने प्रस्तावसँगै चीनको एक चीन नीतिको सिद्धान्तको सम्मान अमेरिकी राष्ट्रपतिले गर्नुहुनेछ भन्ने विश्वास आफूलाई लागेको बताएका थिए।
साथै फोनवार्तामा आसन्न जि २० बैठकका बारेमा पनि कुराकानी भएको थियो। बैठकमा यी दुई देशका साझा मुद्धामा फोनवार्तामा कुराकानी भएको थियो। तर ती एजेण्डा के हुन् भन्ने बारेमा भने केही बताइएको छैन।
कुराकानीका क्रममा उनले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी प्राय सधैँको तनावपूर्ण अवस्थाका बारेमा पनि कुराकानी गरेका अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ।
चीनका कारण कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रही आएको छ। त्यसैले कोरियाली प्रायद्वीपका बारेमा पनि फोनमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ। रासस/एएफपी/सिन्ह्वा