
काठमाडौं: गोकर्णेश्वर नगरपालिका ९ का बासिन्दाले मेलम्ची खानेपानी आयोजनाको आरुबारीस्थित ट्याङ्की निर्माणस्थलमा तालाबन्दी गरेका छन्। निर्माणकार्यमा ढिलासुस्तीका कारण परेको असरको विरोधमा आरुबारीबासीले प्रदर्शनसहित तालाबन्दी गरेका हुन्।
समयमा काम नहुँदा खानेपानीको पाइप बिच्छ्याउन सडकमा खनिएको खाल्डो जस्ताको त्यस्तै रहेको, वर्षाका कारण सडकमा हिड्न र सवारी चलाउन गाह्रो भएको स्थानीयको भनाई छ। 'दैनिक आवत जावत गर्ने मुख्य सडकमात्र नभएर वैकल्पिक सडक पनि प्रभावित छ। विकासको नाममा यस्तो ढिलासुस्तीले सहन गाह्रो हुन्छ', स्थानीय ग्राम निर्माण बन्धु मण्डल कल्बका उपाध्यक्ष किरण पण्डित क्षेत्रीले बताए।
निर्माण कार्य सुस्त भएकै कारण उक्त ठाउँमा चल्ने भाडाका सवारी साधन पनि अनियमित छ। जोरपाटी माइक्रो व्यवसायी संघका अध्यक्ष चन्द्रलाल श्रेष्ठ भन्छन्,'माइक्रोको अनियमिततामा त हामीले कारबाही गर्न पर्ने हो तर समस्या नै यस्तो छ के गर्ने? वैकल्पिक सडकको प्रयोग पनि सम्भव छैन। गाडी गुडाइ हाले हिलो र खाल्डोमा फस्ने डर।'
गत जुन सात तारिखका दिन त मेलम्ची खानेपानी आयोजनाले पाइप जडानका लागि खनेको खाल्डोमा चालकसहित बाइक खसेको थियो। गम्भिर घाइते भएका उनलाई स्थानीयले तत्काल नेपाल मेडिकल कलेज पुर्याएका थिए।
सोमबार बिहानदेखि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। गोकर्णेश्वर नगरपालिका ९ का लागि नवनिर्वाचित वडाध्यक्षले समस्याको समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताए। भने,'आन्दोलन सही तरिका होइन। त्यसैले चाडै समस्या समाधानको लागि उचित बाटो खोज्छु।'
फोटो: दलबहादुर श्रेष्ठ