विराटनगरः विराटनगर महानगरपालिकाको वडा नं. १ मा वडा अध्यक्षसहित चारै सदस्य जितेर नेपाली काङ्ग्रेसले विजयी यात्राको सुरुवात गरेको छ।
मतगणना सुरु भएको पाँच दिनपछि वडा नम्बर १ को परिणाम घोषणा गरिएको छ। नेपाली काङ्ग्रेसका उद्वव अर्याल वडा नं. १ मा १ हजार ५ सय ३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका काजी बस्नेतले १ हजार ३ सय २ मत प्राप्त गरेका छन्।
वडा नं. १ मा ४ हजार ५ सय ११ मत खसेको थियो ।
महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसकै उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो परिणाम अनुसार काङ्ग्रेसका भीम पराजुलीले ६ हजार २ सय ६२ मत ल्याएका छन्। एमालेका विनोद ढकालले ५ हजार ४ सय ७५ मत ल्याएका छन्। प्रमुख पदमा सङ्घीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको ५ हजार ४ सय ७५, माओवादी केन्द्रका नमिता न्यौपानेको २ हजार ६ सय ७८ र फोरम लोकतान्त्रिकका सुची चौधरीको २ हजार ४ सय २२ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ।
कटहरीमा जित्यो काङ्ग्रेसले
महानगरपालिकासँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा पनि नेपाली काङ्ग्रेसका अध्यक्ष र उपाध्यक्षले विजय हासिल गरेका छन्।
कटहरीमा काङ्ग्रेसकातर्फबाट आकांक्षी भएका रामकुमार कामत ४ हजार ५ सय ६ मतले विजयी भएका हुन्। उनका निकटमा एमालेका मुक्तिनारायण राजवंशीले ३ हजार ७ सय ८१ मत प्राप्त गरे।
कटहरीको उपाध्यक्षमा काङ्ग्रेसका मन्जिता सर्दारले ४ हजार ४ सय ९४ मत ल्याएर जित हासिल गरिन्।