
केही समय यता भोजपूरी फिल्म इन्डस्ट्रीमा तीन फिल्म सार्वजनिक भए, धड्कन, ससुराल र जिगर। आउँदो जुलाईमा अर्को फिल्म सार्वजनिक हुँदैछ, सादी कर के फस गया यार। केही अध्ययन गरियो भने भोजपूरी फिल्मले बलिउडको फिल्मको नाम र गीतको प्रयोग आफ्नो इन्डस्ट्रीमा गरेको प्रस्ट हुन्छ।
हालमात्र यो समस्या देखिएको भने होइन। बिबिसी हिन्दीमा उल्लेखित एक फिचर स्टोरीका अनुसार भोजपूरी फिल्म इन्डस्ट्रीले आफ्नो फिल्महरुको न्वारन बलिउडका हिट फिल्म वा हिट गीतको नामबाट गरेको पाइन्छ।
'रंगीला', 'जमाई राजा', 'सरकाइलो खटिया जाडा लगे', 'नाचे नागिन गली गली', 'दामिनी', 'दिलजले', 'दिलवाले', 'शहंशाह', 'राम लखन', 'मोहब्बत', 'आखिरी रास्ता', 'रखवाला', 'गदर', 'घात', 'मेहंदी लगा के रखना', 'होगी प्यार की जीत' केही यस्ता फिल्म हुन् जसको नाम बलिउडमा प्रयोग भइसकेको छ। तर उल्लेखित सबै नाम एकवर्ष यता भोजपूरी भाषामा सार्वजनिक फिल्महरु हुन्।
सन् १९९५को हिट बलिउड फिल्म 'करण अर्जुन' भोजपुरी भाषामा 'आज के करण अर्जुन' नाम सहित सार्वजनिक भयो। आमिर खान अभिनित 'राजा हिंदुस्तानी' भोजपुरीसम्म पुग्दा दिनेश लाल यादव स्टारर 'निरहुआ हिंदुस्तानी' बन्योल। त्यस्तै बलिउडको 'ग्याङ्स अफ वासेपुर' भोजपुरी इन्डस्ट्रीमा पुग्दा 'ग्याङ्ग अफ सिवान' नाम सहित प्रदर्शन भयो।
वरिष्ठ फिल्म समीक्षक जय मंगल देवले यस विषयमा भने,'भोजपुरी फिल्म निर्माणकर्तालाई यो सबैभन्दा सजिलो माध्यम हो। ब्राण्ड बलिउडको, प्रचार प्रसार बलिउडको, मिहेनत बलिउडको र अन्त्यमा फाइदा भोजपूरी फिल्मलाई।' उनले भोजपूरी सिनेमामा स्क्रिप्ट राइटरुको कमी भएको तर्क गरे। भन्छन्,'उनीहरु सिर्फ बलिउडको स्क्रिप्ट रिराइट गर्छन्।'
यस विषयमाथी भोजपूरी फिल्म इन्डस्ट्रीमा पनि बहस सुरु भएको छ। भोजपूरी फिल्म वितरक एवं अभिनेता रमेश सिंह भन्छन्,'भोजपूरी कथा र विषयलाई भोजपूरीले नै फिल्ममा नउठाएसम्म यो समस्या रहिरहन्छ। अहिले त बम्बई, गुजरात या अन्य कुनै प्रदेशकोले यो काम सम्हालेका छन्। उनीहरुको ध्यान नै राम्रो फिल्म बनाउनेमा भन्दा बढी आफू फाइदा कमाउनेमा हुन्छ।'
भोजपूरी फिल्ममा १४ वर्ष काम गरेकी रानी चटर्जी भने यो कुरा स्विकार्दिनन्। भन्छिन्,'ओभरसिज मार्केटको लागि पनि भोजपूरी फिल्म बन्ने भएकोले गर्दा हिन्दी नाम राखिएको हो। बलिउडमा चाही हलिउड प्याट्रनका नाम नै राखिएको छैन त?'
भोजपूरी फिल्म ससुरालका निर्देशक राजकुमार पाण्डेले पनि चलनचल्तीका हिन्दी शब्दहरु फिल्मको नाममा प्रयोग गर्दा समस्या नहुने तर्क राखे।