विराटनगरः मोरङको पथरीशनिश्चरेको वडा नं. ९ मा पुनःमतगणना गर्न माग गर्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन्।
आइतबार साँझदेखि अवरूद्ध मतगणना सोमबार अपराह्न ३.३० देखि सुरु गरिए पनि काङ्ग्रेस कार्यकर्ता यसलाई वहिष्कार गरेर प्रदर्शनमा उत्रिएका हुन्।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवार वीरबहादुर लिम्बूले एकपक्षीय रूपमा मतगणना सुरु गरिएको भन्दै आफ्नो पार्टीले विरोध जनाएको बताए।
तर, निर्वाचन अधिकृत चेतकुमार पोखरेलले कानुनअनुसार पुनः मतगणना गर्न नसकिने बताए।
‘मत परिणामको मुचुल्का बनाएर घोषणा गरिसकेपछि पुनः गणना गर्न मिल्दैन’, अधिकृत पोखरेलले भने, ‘निर्वाचनसम्बन्धी कानुनमा स्पष्ट उल्लेख भएको बुँदाकोविरूद्ध जान हामी सक्दैनौं।’
पोखरेलले सर्वदलीय सहमतिका आधारमा पुनः मतगणना सुरु गरिएको जानकारी दिए। सहमतिमा नेपाली काङ्ग्रेसबाहेक सबै दलका प्रतिनिधिले हस्ताक्षर गरेको उनले बताए।
नगरपालिकामा हालसम्म वडा नं. १, २, ३, ४, १०, र ९ को मतगणना सम्पन्न भइसकेको छ । जसमा वडा नं. १, २, ३ र ९ मा एमाले, ४ मा माओवादी केन्द्र र १० मा नेपाली काङ्ग्रेसले जितेका छन्।