PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

अन्जार आलम र रविन्द्र लिङ्ग्देनको पौरखमा जोगियो राप्रपाको साख, धवल शम्शेरको पौरखमा थपिँदै जीतको गौरव



सूर्य खड्का

अन्जार आलम र रविन्द्र लिङ्ग्देनको पौरखमा जोगियो राप्रपाको साख, धवल शम्शेरको पौरखमा थपिँदै जीतको गौरव

काठमाडौं : पूर्वी नेपाल झापाको कचनकवल गाउँपालिकाको बिजेता बनेका अन्जार आलम राप्रपाका लागि दोस्रो चरणको चुनावी भिडन्तमा विजयको पहिलो खाता खोल्ने होचो भूगोलका अग्ला स्थानीय सरकार प्रमुख बने। यस्तै पहिलो चरणदेखि दोस्रो चरणसम्म स्थानीय चुनावमा पहिलो बनिरहेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकको वडा नम्बर १ मा राप्रपाका ताराप्रसाद अधिकारीले पाएको वडाध्यक्षको जीत राप्रपाको हालसम्मकै गर्विलो विजय हो। 

झापाको हल्दीवारी गाउँपालिकामा राप्रपाका रविन्द्र लिङ्गदेन अध्यक्षमा जितेर राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनको गृह क्षेत्रको नाक जोगाइदिएका छन्। यो जितसँगै गाउँपालिका प्रमुखमा राप्रपाको एक स्थान बढेको पनि छ। 

राप्रपाका महामन्त्री लिङ्गदेनले आफ्नो गाउँपालिक प्रमुखमा रबिन्द्रलाई जिताएर आफ्नो गृह गाउँको पकडमात्रै देखाएका छैनन्, अन्य महामन्त्री, अध्यक्ष तथा बरिष्ठ नेताहरुको गृहनगर र गाउँको शून्य नतिजाका बीच आफ्नो राजनीतिक प्रभावलाई प्रमाणित पनि गरेका छन्।

झापाको जीत राजनीतिक र रणनीतिक हिसाबले पनि राप्रपालाई मिलेको ठूलो सफलता हो भने महामन्त्री राजेन्द्रका लागि पार्टीमा थप पकड जमाउने नयाँ मौका। अब नेपालगन्जमा विजयोन्मुख रहेका धवल शम्शेर राणाको मेयरको जित राप्रपाको सबैभन्दा गहकिलो जीत हुने निश्चितप्रायः छ।

औलामा गन्न सकिने यिनै प्रतिनिधि विजयहरुमा रमाउँदै राप्रपाले दोस्रो चरणको स्थानीय तहमा शून्य विजयको खतरनाक खड्गो टारेको छ। तर, यसपछि राप्रपाको विजय लहर आउने सम्भावना पनि सकिँदै गएको छ। संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि समाप्ति उन्मुख हुँदै गएको दोस्रो चरणको स्थानीय चुनावको परिणाम पनि पहिलो चरणको जत्तिकै निराशाजनक नरहे पनि उसको अपेक्षा अनुरुप सकारात्मक नआउने संकेत देखिएको छ। राप्रपाले पनि कही त जितेको छ है भनेर नाक जोगाउने चुनावी अवसर बनेको दोस्रो चरणको मतपरिणाममा उसले केही जिल्लाका गाउँपालिका र नगर तथा वडाहरुमा मात्रै विजय हासिल गर्दैमा सकिनै लागेको छ। 

नेपालगन्जमा धवल शम्शेरको पौरख, राप्रपाको गौरव

नेपालगन्ज नगरपालिकामा उसले प्रभावशाली उम्मेद्वार धवल शम्शेर राणाको व्यक्तिगत प्रभावका कारण लगभग जितेकोमा पार्टीको शानदार जितको गौरव गाथा भन्न पाएको छ। तर, अन्यत्र सोमवार अपरान्हसम्म करिब ३ सय स्थानीय तहको मतपरिणाम आइसक्दा पनि राप्रपाले अरु कुनै पनि महानगर, उपमहानगर, नगर र गाउँपालिकामा स्थानमा पनि प्रमुख जित्न सक्ने भरपर्दो प्रतिस्पर्धी हैसियत वा अग्रता कायम गर्न नसकेका कारण राप्रपालाई थप चुनावी सफलता मिल्ने सम्भावनाहरु कमजोर छन्। यस अर्थमा असार १४ को स्थानीय चुनावको दोस्रो प्रहर पनि करारी पराजयको दोस्रो प्रहर मात्रै बन्ने संकेत देखिएको छ। 

प्रदेश १, ५ र ७ मा संविधान सभाको दोस्रो चुनाव २०७० मा मात्रै २ सांसद जितेको राप्रपाले हाल स्थानीय तहका भिन्न भिन्न जिल्लामा वडा स्तरमा उसले पाएको जित उसका लागि पार्टीको बीऊ जोगिएको सन्देश स्थापित हुने बाहेक ठूलो राजनीतिक विजयको खुशी बन्न नसक्ने मध्यान्तरसम्मको मतपरिणामले देखाएको छ। धनकुटा गुमाइसकेको राप्रपाका लागि नेपालगन्ज र झापा नै स्थानीय तहमा जीत हासिल गरेका मानक सफलता बन्न सके। 

धादिङको १ गाउँपालिका बाहेक पहिलो चरणको चुनावमा देशैभरबाट स्थानीय मतदाताबाट लगभग बढारिएको राप्रपालाई पार्टीको नीतिले भन्दा पनि स्थानीय उम्मेद्वारको प्रभावका कारण केही स्थानमा जित हात पर्यो। कुनै पनि स्थानमा राप्रपाको जीत पक्का भन्ने सन्देश चुनावी प्रचार अभियानमा प्रवाह गर्न नसकेको राप्रपाले हाल ३३४ स्थानीय तह मध्ये अब बाँकी मतगणनामा थप केही स्थानमा जीतेमा पार्टीको प्रभावमा स्थानीय समर्थन झिनै भए पनि कायम रहेको सन्देश जानेछ। 

कचनकवलकको अग्लो जित

देशकै भूगोलमा सबैभन्दा होचो गाउँपालिका भनेर चिनिने झापाको कचनकवलको अन्तिम परिणाम सार्वजनिक हुँदा रोचक विजय हात परेको छ, राप्रपालाई। संयोग नै हो होचो भूगोलमा राप्रपाले पहिलो विजय हात पार्यो। कुनै पनि स्थानीय निकायमा पहिलो पटक राप्रपाले प्रमुख जीतको श्रीगणेश झापाको कचनकवलबाटै गर्ने जनादेश जुर्यो।

पञ्चायतकालदेखि प्रजातन्त्र काल र गणतन्त्रकालमै पनि बामपन्थी किल्ला मानिने झापा र त्यहाँको पनि कचनकवल सत्ता नेतृत्वदायी दल नेपाली कांग्रेसका तेस्रो गुटका नेता कृष्ण सिटौलाको उदय भएपछि कांग्रेसकै किल्लाको रुपमा फेरियो। तर यसपटक भने शक्तिशाली कांग्रेस नेता सिटौलाकै मुख्य प्रभाव क्षेत्रमा हिन्दूवादी दल राप्रपाले प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा जितेको छ। अर्थात् गणतन्त्रमा गणतन्त्रविरोधी दल राप्रपालाई कचनकवलका स्थानीय मतदाताले पत्याएका छन्। केन्द्रीय राजनीतिमा हावी हुने सिटौला जस्ता नेताहरु स्थानीय मतदातासँग टाढिएका अर्को एक प्रमाण पनि हुन सक्छ राप्रपालाई मिलेको यो पूर्व मेचीको पहिलो विजय। लालकिल्ला भनिने झापाको क्षेत्र नम्बर ३ मा २०७० को  संविधानसभा दोस्रो चुनावमा कांग्रेस नेता सिटौला बिजेता बनेको क्षेत्रमा मुस्किलले पाएको राप्रपाको बहुमत उसका लागि सिंगै दोस्रो चरणको विजयी यात्राको खाता खोल्नु पनि अर्को सुखद् पक्ष हो। 

हिन्दुवादी दलबाट मुस्लिम प्रमुख

हिन्दूवादी रुझानको दल राप्रपाबाट कचनकवल गाउँपालिकाको बिजेता बनेका प्रमुख अन्जार आलम भने मुस्लिम समुदायका हुन्। राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कालेन्द्र सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे। उपप्रमुखमा राप्रपाकै निम्सरी राजवंशी ५ हजार ७ सय ९२ मत ल्याएर बिजेता बनिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी गीता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन्। यहाँको सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा कांग्रेसले जितेको छ। माओवादी केन्द्र शून्य सिट भएर होचो भूगोलमा पत्तासाफ भएको छ। 

स्मरणीय के छ भने राजावादी तथा हिन्दुवादी भनिने राप्रपाको यो विजयमा उसलाई गैर हिन्दु उम्मेद्वारले विजय गाथा बनिदिएका छन्। पहिलो चरणमा धादिङमा पनि क्रिश्चियन उम्मेद्वार चेरुङ तामाङले प्रमुखमा १४८७ मत सहित राप्रपाको कोटाबाट रुविभ्याली गाउँपालिकामा जितेका थिए। क्रिश्चियन र मुस्लिम उम्मेद्वार हिन्दूवादी राप्रपाका विजयी गाउँपालिका प्रमुख बन्नु पनि गजबको संयोग हो।

ओलीको गृहनगर दमक, राप्रपाको चमक

पहिलो चरणको चुनावमा चितवनको भरतपुर पछिको सबैको चासोको विषय बनेको झापाको दमक नगरपालिका अन्तर्गत वडा नं १, को विजय पनि राप्रपाका लागि अर्को सुखद् परिणाम हो। एमालेका वडाध्यक्ष प्रत्याशीलाई हराउँदै राप्रपाका ताराप्रसाद अधिकारी ७ मत बढीले विजयी हुँदा ओलीको आँगनमा राप्रपाको झण्डा फहराइएको छ। तर पुनः मतगणनापछि बल्ल बल्लमात्रै राप्रपाका अधिकारी विजयी भएका हुन्। 

मत गणनाको काम सकिएपछि वडा अध्यक्षमा एमाले र राप्रपाका उम्मेद्वारले बराबरी ८०१ मत पाएको भनिएको थियो। तर, पुनः मतगणना गर्दा राप्रपाका अधिकारीले ८०७ ल्याएर विजयी बने। मतगणना सकिएपछि पार्टी प्रतिनिधि बाहिरिए लगत्तै निर्वाचन आयोग र मतगणनामा संलग्न कर्मचारीको चलखेलले दुवैलाई ८०१ र ८०१ पारी बराबरी भएको संकेत दिएर गोलाप्रथा नियम लादिएपछि बिरोध भएको थियो। बराबरी मतलाई गोलाप्रथाद्वारा निर्णय गर्ने आयोग र कर्मचारीको निर्णय एमाले बाहेक अन्य बिपक्षी दलले अस्वीकार गरी आन्दोलनमा उत्रिएपछि पुनः मतगणना गरिएको थियो। पुनः गणना गर्दा एमालेको ८०० मत, र राप्रपाले ८०७ मत प्राप्त गरेका थिए। 

राप्रपाका एकल मेयर, धवल शम्शेर

डुब्दो नाउका सिन्की साहार भने जस्तै देखिए राप्रपाको चुनावी विजयका लागि नेपालगन्जका मेयरका प्रत्याशी धवल शम्शेर राणा। आफू मेयरमा जिते तलब भत्ता नलिने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बाचा गरेका राणा आफैँमा राप्रपा भन्दा पनि ज्यादा स्थानीय मतदाताका लागि हेभीवेट व्यक्तित्व हुन्। उनी जुन दलमा रहे, उनका पक्षमा स्थानीय नेपालगन्जवासीको समर्थन आफू वरीपरी नै राख्न सक्ने उनको छबी देखिँदै आएको छ।

२०७० सालको निर्वाचनमा धवल शमशेर संविधानसभा सदस्यको उमेदवार रहेर पनि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग १७ सय मतान्तरले पराजित भएपछि राणाले तय गरेको यो पहिलो चुनावी संघर्ष हो। उनले सांसदमा हारेर मेयरका लागि गरेको दावीमा स्थानीयको समर्थन पाएर चुनावी जीतको पौरख मात्रै देखाउँदै छैनन्, पार्टीका लागि जीतको गौरव गाथा पनि थपिदिँदैछन्। 

यस अघि नेपालगञ्जबाट पाँचपटक चुनावी लडाइ लडेका राणा २०५४ सालमा मेयर बनेका अनुभवी पनि भएका कारण उनले सन्निकट जितसँगै नेपालगन्जलाई महानगर बनाउनेदेखि आधुनिक शहर बनाउने वाचा पूरा गर्नसक्ने संभावना छ, जसले राप्रपाको स्थानीय राजनीतिलाई पनि स्थानीय तहमा जीवित राख्न मद्धत गर्ने छ।  तिनैपटकका संसदीय चुनाव नफापेका राणालाई यसपटक मेयर फाप्दै गर्दा उनको निर्वाचित मेयरमा पुनरागमन मात्रै भएको छैन, राप्रपाको देखाउने संभवतः एकल मेयर बन्ने मौका पनि उत्तिकै मिलेकोछ। 

राप्रपाले जितेका अन्य वडाहरु 

बैतडीको पञ्चेश्वर गाउँपालिकाको वडा नं ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानलसहित विजयी भएको छ। वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी भएका हुन्। पुजाराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत ल्याएका थिए। वैतडी राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको गृहगाउँ पनि हो।

यस्तै महिला सदस्यमा राप्रपाका सरस्वती पन्त भण्डारीले २ सय ४६, दलित महिला सदस्यमा शकुन्तला औजीले २ सय ४१, खुला सदस्यहरुमा राप्रपाकै गोविन्दसिंह भण्डारीले २ सय ९१ र कृष्णसिंह भण्डारीले २ सय ४१ मत ल्याएर विजयी भए।

राप्रपाले नेपालगंजको मेयरसहित वडा ४, ५ र ८ मा पनि प्यानल सहितको विजय हात पारेको छ। यसैगरी राप्रपाले बर्दियाको गुलरियास्थित वडा नम्वर ७ मा वडाध्यक्ष जितेको छ। खोटाङको रुपाकोट मझुवागडी नगरपालिकामा पनि  वडामा राप्रपा जितेको छ। रोहीणी गाउँपालिकामा पनि वडा ३ र ४ मा राप्रपाले वडाध्यक्ष जितेको छ। झापाकै हल्दीवारीको वडा ५ मा पनि राप्रपाका शेरबहादुर नेम्वाङ प्यानलसहित विजयी भएका छन्।

दशरथचन्द नगरमा होला पुनः मतगणना ? 

वैतडीको दशरथचन्द नगरको परिणाममा पराजित पुष्करराज जोशीले हारेपछि उसले पुनः मतगणनाका लागि गरेको आग्रह निर्वाचन आयोगले सुनिदिएमा उसका लागि केही थप राहत हुन सक्ने संभावना छ। वैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन्। कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग गरेका छन्। वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला वैतडीमा एउटा पनि सिट नजितेको राप्रपाले मत गणनामा धाँधली भएको दाबी गरेको छ।

स्थानीय तहका लोकप्रिय पराजित राप्रपा उम्मेद्वार जोशीले मतगणनास्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरिएको आरोप आइतवार पत्रकार सम्मेलनमार्फत् लगाएका छन्। मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमतिका बाबजुत पनि मुख्य निर्वाचन अधिकृतले औठाछाप लगाएको मत पनि सदर गरेको आरोप पनि राप्रपाको छ। मतगणनाको समयमा बत्ती निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरु निरन्तर आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरुको सहीछाप विना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उनको आरोप छ। राप्रपाले कर्मचारी र प्रतिस्पर्धी दलको प्रतिनिधिहरुको मिलेमतोमा धाँधली पूर्णरुपमा मतपरिणाम सार्वजनिक गरेर जनमतको अपहेलना गर्ने काम भएकाले पुनः मतगणनाका लागि उच्च अदालत कञ्चनपुरमा अपिल पनि गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell