PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

धनकुटाका सातै तहमा एमाले कब्जा : प्रमुखमा कांग्रेस पत्तासाफ



पहिलोपोस्ट

धनकुटाका सातै तहमा एमाले कब्जा : प्रमुखमा कांग्रेस पत्तासाफ

काठमाडौं : धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा नेकपा एमालेले कब्जा जमाएको छ। तीन नगरपालिका र चार गाउँ पालिका रहेको धनकुटामा एमालेले एकलौटी जित हासिल गरेको हो।

जितसँगै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसको किल्ला तोडिदिएको छ र धनकुटालाई एमालेको लालकिल्ला बनाउन सफल भएको छ। 

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस धनकुटाबाट पत्तासाफ भएको छ। उसले कुनै पनि स्थानीय तहमा जित हासिल गर्न सकेन। कांग्रेस धनकुटाका सात स्थानीय तहमा जम्मा ८ वडामा सीमित भएको छ। संसदमा पहिलो हैसियत भएको कांग्रेस धनकुटामा वडा बाहेक शून्य उपस्थितिमा पुगेको हो। 

२०७० सालको संविधानसभाको निर्वाचनमा सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई जिताउँन स्थानीयस्तरमा लोकप्रिय नेता कमोड फागोको उम्मेद्वारी फिर्ता लिएको कांग्रेसले स्थानीय तह निर्वाचनमा सुनिलबहादुरलाई जिताएको परिणाम हात पारेको हो। 

स्थानीय तह निर्वाचनमा संसद्को पहिलो पार्टी धनकुटाका सात स्थानीय तहमा निल खाएर ८ वडामा मात्र सीमीत हुनुमा त्यही कदम प्रमुख कारण बन्यो।

पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाले कहिलै चुनाव नहारेको धनकुटामा २०७० को चुनावमा उनका छोरा सुनिलबहादुर थापा पनि जित्न सफल भएका थिए। 

तर सूर्यबहादुरको निधनसँगै उनको पकडको जिल्ला धनकुटाको पकट पनि राप्रपाले गुमाएको छ। बाबु बाँचेकै वेला संविधानसभा सदस्य निर्वाचित भएका सूर्यबहादुरका छोरा सुनिलबहादुर आफ्नो इलाका जोगाउन भने असफल देखिएका छन् र एउटा पूरै निर्वाचन क्षेत्र जितेको राप्रपा जिल्लामा एउटा वडामा समेत उपस्थिति जनाउन नसकेर स्थानीय तहमा नील भएको छ। 

यस्तो छ धनकुटाको परिणाम

सदरमुकामस्थित धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा सकुन्तला बस्नेत निर्वाचित भएकी छन्। पाख्रिबास नगरपालिकामा एमालेकै वृषबहादुर राई निर्वाचित भएका छन् भने उपमेयरमा पनि एमालेकै देवकला पौडेल तिमिल्सिना निर्वाचित भएकी छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपालले जितेका छन् भने उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी निर्वाचित भइन्। 
बाँकी चार गाउँपालिकामा पनि एमालेले नै जित हासिल गरेको छ। 

खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका मनोज राई निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै रत्नश्वरी राई निर्वाचित भएकी छन्। 

चौविसे गाँउपालिकामा एमालेका खजिन्द्र राई निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचाल गजमेर निर्वाचित भएकी छन्। 
छ थर जोरपाटी गाउँपालिकामा एमालेका शेरबहादुर लिम्बु निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठ निर्वाचित भइन्।  
अर्को गाउँपालिका सागुरीगढीमा एमालेकै कुमारजंग याखा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै विन्द्रा राई निर्वाचित भइन्। 

आठ वडामा सीमित नेपाली कांग्रेस 

नेपाली कांग्रेस भने सात वटा स्थानीय तहमा जम्मा ८ वडामा सीमित भएको छ। १० वटा वडा रहेको धनकुटा नगरपालिकाका २ वटा वडामा मात्र कांग्रेसले जितेको छ। वडा नम्बर ५ मा धनकुमार राई आठपरियाले जितेका छन् भने वडा नम्बर ६ मा कांग्रेसका नरेश श्रेष्ठ निर्वाचित भए।
महालक्ष्मी नगरपालिकाको वडा नम्बर २ र ४ मा नेपाली कांग्रेसका ध्रुबराज राया र यज्ञबहादुर चापागाईले जितेका छन्। 

खाल्सा छिन्ताङ गाउँपालिकाको वडा नम्बर एकमा कांग्रेसका अशोक राईले जितेका छन् भने चौविसे गाउँपालिकाको वडानम्बर ४ मा कांग्रेसका नगेन्द्र बहादुर तामाङ निर्वाचित भएका छन्। त्यही गाउँपालिकाकाको वडा नम्बर ७ मा कांग्रेसका दुर्गाबहादुर सुवेदी निर्वाचित भए। 

यस्तै साँघुरीगढी गाउँपालिकाको वडानम्बर ५ र ६ मा कांग्रेसका पलकबहादुर बस्नेत र यमप्रकास मगर निर्वाचित भए।

संघीय समाजवादी र नयाँ शक्ति एक एक वडामा 

एउटै चुनाव चिह्नमा निर्वाचनमा संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने एक एक वडामा आफूलाई जोगाउन सफल भएका छन्। 
चौविसे गाउँपालिकाको वडा नम्बर छ मा संघीय समाजवादी फोरम छिरेको छ। फोरमका दानसिंह राई याम्फू निर्वाचित भएका हुन्। 
यस्तै धनकुटा नगरपालिकाको वडा नम्बर तीनको अध्यक्षमा नयाँ शक्ति पार्टीका विकास घिमिरे निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell