
काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच नयाँदिल्लीमा भएको भेटमा हालका दिनहरुमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको मैत्री सम्बन्ध विभिन्न तहमा भएको भ्रमणले अझ बढी सुदृढ भएको विचारको आदानप्रदान भएको छ।
दुवै नेताहरुले दुई देशबीचको विकास सहयोग, व्यापार र पारवहन, सीमापार पूर्वाधार, जलविद्युत् परियोजनालगायत विषयमा विस्तृत समीक्षा र छलफल गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको सामाजिक, आर्थिक विकासका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए। भारतीय विदेशमन्त्री स्वराजले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाल सरकारलाई बधाई दिइन्।
विदेशमन्त्री स्वराजले सोमबार उपप्रधानमन्त्री महराको सम्मानमा रात्रि भोजको आयोजना गरिन्। मन्त्री महरा मङ्गलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ । रासस