
काठमाडौं: गत शनिवार नेपाली फिल्म क्षेत्रमा अप्रिय खबर फैलियो। धेरैकै लागि अविश्वसनीय- निर्देशक निलु डोमा शेर्पाको निधन। कारण भनियो हृदयघात। उनी बालुवाटार स्थित आफ्नै निवासमा मृत भेटीएकी हुन्। उनको शरीरलाई टिचिङस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखियो।
आमा अष्ट्रेलियाबाट फर्किएपछि मात्र अन्तिम संस्कार पुरा गर्ने भनिएको थियो। मङ्गलबार निर्देशक निलु डोमा शेर्पाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिने भएको छ। उनकी आमा त छोरीको श्रद्दाञ्जलीको लागि नेपाल आइन्। तर निलु निकट केही कलाकार भने उनलाई अन्तिम श्रद्दाञ्जली पनि दिन नपाएकोमा दु:खी छन्। निलु निर्देशिक फिल्म 'हाउ फन्नी'का दुबै मुख्य पात्र केकी अधिकारी र प्रियङ्का कार्की उनको मिल्ने साथी हुन्। तर दुबैजना यस समय नेपालमा छैनन्। निलुे प्रेमिल क्याप्सन सहित सामाजिक सञ्जालमा पोस्ट गर्ने यी दुई सँगको फोटोले पनि निकटता पुस्टि गर्छ।
अभिनेत्री केकी अधिकारीले उही निकट साथीको मृत्युले दिएको पिडालाई यसरी शब्दमा उतारेकी छिन्।
प्रिय निलु,
आज तिमीले हामीलाई छाडेर गएको पनि ४ दिन भैसकेको छ। 'केकु तिमी कत्ती सजिलै मनमा लागेका कुराहरु कति राम्ररी लेख्न सक्छौ' भन्थ्यौ नि तर कहिले काहिँ मनका भावनाहरु,यादहरु सब्दमा उतार्न एकदम सकस हुदो रैछ। यो सायद मेरो पहिलो लेखेको कुरा हुनेछ जुन तिमी पढ्ने छैनौ अनि यो बारे केही भन्ने छैनौ।
I love you keku भनेर तिमीले मलाई अन्तिममा भनेको शब्दहरु बारबार दिमागमा घुमिरहेका छन्। सधै खुशी मात्र दिने मान्छेले यती पीडा पनि दिन सक्छ भनेर मैले कहिले सोचेकै थिइनँ । तिम्रो उपस्थिति मात्रले माहोलमा कति फरक पार्थ्यो , सबलाई हँसाउनु पर्ने तिमी कति राम्रो मान्छे थियौ भन्ने कुरा मैले तिमीलाई कहिल्यै भन्न पाइनँ। समय जत्ती पनि छदै छ नि जस्तो लाग्थ्यो तर समय नै त हाम्रो हातमा नहुँदो रहेछ। यसको अपसोच मलाई सधै हुनेछ।
जन्मेपछी मृत्यु शाश्वत कुरा हो तर यो सत्यलाई स्विकार्न मैले सकेकै छैन र अझै कति समय लाग्ने हो त्यो पनि थाहा छैन। तिमीले हरेक तिमीलाई भेटेका,जानेका अनि तिमीलाई नजिकबाट बुझेकाहरुमा धेरै प्रभाव पारेको छौ निलु अनि यो अभाव हाम्रो जिवनमा कसैले पुरा गर्न सक्दैन। कोही कोही मान्छे जिन्दगीमा यसरी आँउछ उस्ले नमेटिनेगरि आफ्नो छाप छोडेर जान्छ। तिम्रो अधुरो सपनाहरु पुरा गर्न त नसकुँला तर तिमीले जानी नजानी सिकाएर गएको पाठलाई जीवन रहेसम्म लागू गर्ने प्रयास गर्छु।
तिम्रो जस्तै मायालु मन भगवानले सबैलाई दिए, यो संसार एकदम सुन्दर ठाँउ हुनेथ्यो। मलाई बिस्वास छ तिमी आज जहाँ पनि छौ त्यो ठाँउमा पनि यस्तै प्रभाव पार्नेछौ। तिम्रो आत्माको शान्तिको कामना गर्छु सधैं भगवानसंग। धेरै धेरै माया निलु!!
उहि तिम्रो प्यारी केकु