PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

यसकारण सम्भव भयो नेपालगञ्जमा धवलशमशेरको दोब्बर मत अन्तरले जित



आकाश क्षेत्री

यसकारण सम्भव भयो नेपालगञ्जमा धवलशमशेरको दोब्बर मत अन्तरले जित

नेपालगञ्ज : मतगणना सुरु भएको भोलिपल्ट राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार धवलशम्शेर राणा मतगणना स्थल जाँदै थिए। त्यसैबेला उनले नेपालगञ्ज बजारको एक ठाउँमा फोहर थुपारिएको देखे। 

उनले तुरुन्त उपहानगरको कार्यालयमा फोन गरेर ट्याक्टर पठाएर फोहर उठाउन अनुरोध गरे। तर, ट्र्याकटर बिग्रिएका कारण उपमहानगरले तुरुन्त फोहर उठाउन सकेन। तर उनी चुप बसेनन्। उनले निजी ट्याक्टर बोलाएर आफ्नै निजी लागतमा फोहरको व्यवस्थापन गरेरै छाडे। 

'तीन महिनामा नेपालगञ्जलाई विकासको बाटोमा हिडाउँछु,' धवलले त्यही दिन पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए। 

धवल आफूले गरेको कामको प्रशंसा गर्न रुचाउँदैनन् तर, नेपालगञ्जबासीले भने उनी २०५४  सालमा मेयर हुँदा तलब भत्ता नलिएको कुरा होस् या उनले बनाएको नेपालगञ्जको न्यूरोडको कुरा होस्, उनका अनेकौँ उल्लेखनीय कामहरुको व्याख्या गरेर थाक्दैनन्। 

हरक्षण धवलको बोलीमा एउटा आत्मविश्वासको भाव झल्किरहेको हुन्छ। त्यही आत्मविश्वास र उनले गरेको कामलाई नेपालगञ्जका जनताले नबिर्सिएको मंगलबार बिहान सार्वजनिक भएको मतगणनाको नतिजाले छर्लङ्गै पारेको छ। 

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा  राप्रपाका तर्फबाट धवल नेपालकै पहिलो उपमहानगरको मेयर बन्न सफल भएका छन्। नेपालगञ्ज उपमहानगरको मेयर पदमा फेरि निर्वाचित भएका धवलशम्शेर राणाले ३७८५ मतले आफ्ना प्रतिद्वन्दीलाई पछाडि पारेका छन्। मतगणनाको नतिजा अनुसार उनले कूल १२ हजार ५१५ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कनोडियाले ८७३० मत पाएका हुन्।

नेपालगन्जका २३ वटा वडा मध्ये ८ वटा कांग्रेस, ६ वटा एमाले, ४ वटा माओवादी केन्द्र, ३ वटा मात्र राप्रपा र २ वटा फोरम नेपालले जिते पनि उनी लगभग दोब्बर मतले विजयी भएका हुन्। 

राणा प्रधानमन्त्री देवशम्शेरका वंशको रुपमा परिचित धवलशम्शेर राणा २०५४ सालमा नेकपा एमालेबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। २० वर्षपछि उपमहानगरपालिका भएको नेपालगन्जको मेयरमा फेरि नेपालगञ्जका जनताले राणालाई जिताएका छन्।

राप्रपालाई देशभर नै कमजोर मानिएका बेला आफू नेपालगन्जमा धेरै मतअन्तरले विजय हुनुमा जनताको हात भएको बताउँछन् उनी। राणा परिवारमा जन्मिएको भएपनि धवल सर्वसाधारणसँग सामान्य र छरितो प्रस्तुत हुने गर्दछन्। मत परिणाम हेर्दा धवलले मुस्लिम र मधेसी समुदायबाट समेत राम्रो भोट पाएका छन्। 

अमेरिकाबाट राजनीतिशास्त्र विषयमा विद्यावारिधी गरेका धवललाई उपमहानगरबासीले अत्यन्त सम्मानसमेत गर्छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell