
कैलाली : कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा माओवादी केन्द्रका ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले पाँच हजार ६१० मत प्राप्त गरेका छन्।
यसैगरी, उपप्रमुखमा भने नेपाली कांग्रेसकी केशरी विष्ट छ हजार २३६ मत ल्याई विजयी भइन्। उनका निकटतम माओवादी केन्द्रकी आशाकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गरिन्।
गोदावरी नगरपालिकामा एमाले विजयी
यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।
एमालेका हरिसिंह साउद नौ हजार ८७० मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र भट्टले आठ हजार ४५७ मत प्राप्त गरे।
यसैगरी, उपप्रमुखमा एमालेकै रत्ना कडायत १० हजार २५ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भगवती पाठकले भने आठ हजार ९६२ मत प्राप्त गरेकी छन्। रासस